मेचीनगर, चैत ११ । ‘कोही पनि विद्यार्थी कुनै पनि कारणले शिक्षाबाट वञ्चित हुनुहदैँन ।’ आर्थिक अवस्थाका कारण नै अध्यन गर्न नपाएका कयौँ विद्यार्थीलाई नजिकबाट बुझ्नुभएका विशाल तामाङले दुर्गम तथा आर्थिक अवस्था कम भएका परिवारका विद्यार्थीका बाध्यतालाई प्रमुख मुद्दा बनाउनुभयो ।
मेचीनगर १ देवीगञ्जबाट काँकरभिट्टा धाएर पढ्न पक्कै सहज छैन । तर त्यही असहजतालाई संघर्षमा परिणत गर्दै निरन्तर विद्यार्थीका आवाज उठाउँदै आउनुभएका विशाल आज स्ववियु अध्यक्ष जस्तो नेतृत्वदायी पदमा पुग्नुभएको छ ।
विद्यार्थीका आवाजलाई निरन्तर बुलन्द गर्ने प्रतिवद्धता सहित उत्तरी मेचीनगरका साझा समस्या लिएर स्ववियु नेतृत्वमा दाबी गर्नुभएका विशाललाई विद्यार्थीहरुले पनि उल्लेख्य समर्थन गरेका छन् । परिणाम भरखरै सम्पन्न निर्वाचनले नै प्रस्ट्याएको छ ।
उत्तरी मेचीनगरका अधिकांश विद्यार्थीको उच्च शिक्षा अध्यनको थलो हो काँकरभिट्टा क्याम्पस । भुगोलका कारण पछि परेको तिरिङ्ग, गाडागल्ली, मेचीडाँगी लगायत स्थानका अधिकांश विद्यार्थी यहाँ अध्यनरत छन् । लामो दुरी पार गरेर अध्यनका लागि आउनुपर्ने हुँदा यस क्षेत्रका विद्यार्थीलाई यातायातको समस्या छ, जुन समस्या विशालले पहिले नै बुझ्नुभएको थियो । त्यसैले विशालको प्रमुख योजना थियो क्याम्पसलाई निजि बस सञ्चालन गर्न आग्रह गर्नुपर्छ ।
त्यसबाहेक टाढाटाढाका विद्यार्थीलाई सहजताका निम्त्ति होस्टेलको पनि व्यवस्था हुनुपर्छ । विद्यार्थीमाझ मत माग्दै गर्दा उहाँले भन्नुहुन्थ्यो । ‘हरेक विद्यार्थीले टिउसन पढ्न सक्दैनन् त्यसैले परिक्षा अघि एक महिनाको निशुल्क टिउसन क्लास सञ्चालन गर्न क्याम्पस प्रशासनसगँ समन्वय गर्नेछु ।’ उहाँको भनाई थियो ।
‘क्याम्पसले प्रदान गर्ने छात्रवृत्तीमा गरिब तथा जेहेनदार विद्यार्थी समेटिनुपर्छ, आर्थीक अवस्थाकै कारण पढ्न नसकिरहेका विद्यार्थीलाई छात्रवृत्ती मार्फत अध्यन गर्ने वातावरण बनाउनुपर्छ, जसको समन्वय म गर्नेछु ।’ उहाँको भनाई थियो । यी र यस्ता तमाम समस्यालाई पन्छाउँदै सबै विद्यार्थीको नेतृत्व गर्ने प्रतिवद्धता गर्नुभएका उहाँलाई विद्यार्थीले पनि बिश्वास गरेका छन् । उहाँले करिब ५० प्रतिशत मत ल्याएर स्ववियु नेतृत्वको यात्रा तय गर्नुभएको छ ।
चुनाव अघि गरेको सबै बाचामा विशाल प्रतिवद्ध हुन्छन भनेर विद्यार्थीले अपेक्षा गरेका छन् । ‘सबै विद्यार्थीको अपेक्षालाई आत्मसाथ गर्दै निरन्तर विद्यार्थीको समस्याका निम्त्ति भरोसा बन्छु, गुणस्तरीय शिक्षाका लागि आवाज उठाउँछु, समग्र विद्यार्थीको नेतृत्व गर्छु ।’ उहाँले भन्नुभएको छ ।