मेचीनगर, चैत्र ३ । गतिशिल छ सडक, सधैँ झैँ आफ्नै गन्तव्यमा बगिरहेछ टिमाई नदी, बजारको चहलपहल कतै हराएजस्तो लाग्दैन, बजारमा एकाध दगुरिरहेका मानिसको धपेटी कतै बिलाएजस्तो देखिँदैन मात्रै देखिन्छ त केवल त्यहि गतिशिल सडकको पुल मुनी, त्यहि व्यस्त बजारको एक छेउमा यो दुनियाँलाई गुहारीरहेका पदमबहादुरको सानो झुपडी ।
बाँसको टाटिको भत्किन लागेको बार, तिनवटा ढुंगो ठड्याएर बनाएको सानो अगेँना, विस्तरामा पल्टिरहेको थोत्रा कपडाहरु यो भन्दा धेरै त्यो झुपडीमा खासै केहि छैन । तरपनि यहि झुपडीलाई विगत ५ बर्षदेखि एक दम्पत्तीले आफ्नो संसार बनाएका छन् ।
तत्कालिन शान्तिगर जन्मथलो बताउनुहुने ७८ बर्षिय पदमबहादुर कुमाल यही सानो झुपडीमा आफ्नो अँध्यारो रात कटाउँदै हुनुहुन्छ । विरामी छ शरिर पेट सुन्निएको छ, हिँडडुल गर्न सकिँदैन, चिसो सिरेटोमा पुल मुनिको बास छ तरपनि पदमबहादुर रत्तिभर दुखि हुनुहुन्न । किनकि उहाँलाई थाहा छ जिन्दगी त्यो घुम्ती हो जहाँ मोडिन जान्नुपर्छ । नत्र बाटो भेटिन्न ।
‘यो जिन्दगी ओइलायो सानी
हेर्दा हेर्दै गैगयो जवानी’
कता कता यो वाक्यांशले पदमबहादुरको जिवनसगँ मेल खान्छ । ७८ बर्ष पुग्नुभएका उहाँलाई जिवनमा अनेक दुख आउँछन भन्ने थाहा थियो तर बुढेस्कालमा यसरी पुल मुनि बस्नुपर्छ भन्ने चाहिँ कल्पना गर्नुभएको थिएन ।
‘उमेरमा अनेक गरियो बाबु कत्रा कत्रा आली पो लाइएन कि, गाई वस्तुको गोठाला पो गइएन कि, नाचिएन कि, गाइएन कि तर उमेर ढल्किएपछि जवानी रैनरैछ ।’ लामो सुस्केरा हाल्दै आफ्नो विगत सम्झिनुहुन्छ उहाँ ‘उमेरमा यो धुलाबारी बजार आफ्नै थियो, यहाँका हाट बजार, बाटाघाटा सबै आफ्नै लाग्थे अहिले त यहि बजार परदेश भयो, सबै विराना भए ।’
पुलमुनीको झुपडीमा खुशीको जिवन खोजिरहनुभएका उहाँले धुलाबारी बजार नदेखेको नै महिनौँ भइसकेछ । जुन बजारमा उहाँ उमेर छँदा उज्यालो नभइ पुग्नुहुन्थ्यो । जवानीमा पैसा कमाउनुपर्छ भन्ने रहर पनि नभएको होइन पदमबहादुरलाई । भारतका विभिन्न शहर काम गर्नकै लागि पुग्नुभएको छ उहाँ । ‘एकपटक सिलिगुरी पनि पुगेको छु ।’ उहाँ भन्नुहुन्छ ।
अनेक रहरभित्र लुकामारी खेल्दा खेल्दै आफ्नै जिवन ढल्किएको पत्तै भएनछ उहाँलाई । हरेकको दुख देख्दा देख्दै आफ्नै जिवन दुखमा झेलिएको थाहै भएनछ उहाँलाई । सधैँ डुलिरहने शहर परदेश भयो, आफन्त विराना भए, विभिन्न रोग शरिरका परममित्र बन्दै गए अनि शुरु भयो पदमबहादुरको टिमाई पुलमुनि अँध्यारो बसाई यात्रा ।
त्यहि बसाईको यात्रा आज पाचौँ बर्षमा चल्दैछ । झुपडीमा पदमबहादुरलाई साथ दिन उहाँकी श्रीमती पनि हुनुहुन्छ, शान्ति । जसको साहरामा पुलमुनीको अँध्यारोमा पनि हर्षका सपना देख्ने सामथर््य राख्नुहुन्छ पदमबहादुर। श्रीमतीले मागेर ल्याएको अन्नले नै दम्पत्तीको गुजारा चल्ने गरेको छ । ‘अस्ती मन्दिरबाट ल्याएको चामल नि सकिन लाग्यो ।’ उहाँ भन्नुहुन्छ ।
विगत ५ बर्षदेखि यसै झुपडीमा जिवन विताइरहेका दम्पत्तीलाई कसैले सहयोग गरिहाल्छ कि भन्ने आस पनि छ । तर कसैसगँ भन्ने सामथर््य छैन । ‘कसैले सहयोग गरे ठुलो आशिर्वाद दिनेथ्यौँ, हामी त पढेलेखेका छैनौँ ठुलामान्छेसगँ बोल्न नि आउँदैन ।’ पदमबहादुर भन्नुहुन्छ ।