मेचीनगर, जेठ २५ । मेचीनगर लेडी जेसीजले सञ्चालन गरेको जेसीज सप्ताह समापन भएको छ । शनिवार डिजिटल सुरक्षा सम्बन्धी कार्यशाला सहित जेसीज सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।
झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सहजिकरण गर्नु भएको डिजिटल सुरक्षा सम्बन्धी कार्यशालामा मल्टिमिडिया र विभिन्न अध्ययनमार्फत डिजिटल अपराध, साइवर ठगी तथा विभिन्न आपराधिक गतिविधिको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
आफू कसरी सुरक्षित रहने र सुरक्षित समाज निर्माणमा सबैले भूमिका निर्वाह गर्ने भन्ने विषयमा प्रहरी उपरीक्षक खड्काले विभिन्न उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
धुलाबारीस्थीत लेडी जेसीजको सचिवालयमा सम्पन्न कार्यशालाको प्रमुख अतिथि समेत रहनु भएकी प्रहरी प्रमुख खड्काले प्रविधिलाई दुरुपयोग गरेर हुने अपराधका बारेमा जानकारी गराउँदै खड्काले प्रविधिलाई सही तरिकाले प्रयोग गर्दा धेरै काममा सजिलो हुने बताउनु भयो ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि सुरु भएको जेसीज सप्ताहमा विभिन्न उपयोगी ७ वटा कार्यक्रम आयोजना गरिएको लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ प्रधानले बताउनु भयो ।
मेचीनगर लेडी जेसिज अध्यक्ष प्रधानको सभापतित्वमा भएको जेसिज सप्ताह समापनका अवसरमा २०८२ को एसइई परीक्षामा चार जीपीए प्राप्त गर्ने मेचीनगर नगरपालिका भित्रका सामुदायिक र नीजि विद्यालयतर्फका पाँचजना विद्यार्थीहरुलाई सम्मान गरीयो ।
यसरी सम्मानित हुनेहरुमा धुलावारी माध्यमिक विद्यालय मेचीनगर १० का छात्र सुमन राजवंशी, श्री बाल सुबोधिनी माध्यमिक विद्यालय मेचीनगर १४ का छात्र जोनिस भट्टराई, तारापुञ्ज अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर ६ का छात्रा आयुष्मा तिम्सिना, इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर १० का छात्र सुशांङ्क शिवाकोटी र दुर्गा आवासिय अंग्रेजी माध्यमिक विद्यालयका छात्रा प्रमशिा जवेगु छन । कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक खड्का मेचीनगर लेडी जेसिज अध्यक्ष श्रेष्ठले संयुक्तरुपमा सम्मानित विद्यार्थीहरुलाई जनही एक/एक हजार रुपैयाँसहित मायाको चिनो स्वरुप डायरी प्रदान गरेका थिए ।