मेचीनगर, फागुन ३० । उत्तरी मेचीनगर अन्तर्गतका विभिन्न भेगमा सिंचाइ हुने सिद्दि खोला सिंचाइ तथा जल उपभोक्ता संस्थाको अध्यक्षमा इन्द्र प्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।
संस्थाको सोमबार सम्पन्न निर्वाचनले उहाँलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । यसैगरी संस्थाको उपाध्यक्षमा धकुमार राई निर्वाचित हुनुभएको छ भने सचिवमा सूर्य राई तथा सहसचिवमा कमल गौतम चयन हुनुभएको छ ।
यस्तै निर्वाचन चुनिएको कार्यसमितिको कोषाध्यक्षमा इन्दिरा पोखरेल तथा सहकोषाध्यक्षमा लिला रिजाल निर्वाचित हुनुभएको छ । १६ सदस्सीय कार्यसमिति निर्वाचनमार्फत चुनिएकामा १० जना सदस्य रहेका छन् ।
सदस्यहरुमा निर्मला सुवेदी खनाल, लक्ष्मीप्रसाद काफ्ले, सन्तोष न्यौपाने, बिजुली प्रसाद गौतम, अमृत तामाङ, टंकमाया ढुंगाना, राजकुमार घिमिरे, बालुराम गुरागाँई, राम प्रसाद गुराँगाई र कुमारी खनाल चापागाँई चुनिनुभएको हो ।
मेचीनगरका १, २, ३ र ४ नं वडाका १७ सय हेक्टर जमिनमा सिंचाइ हुँदै आएको यस नहरका करिब ३ हजार सदस्य छन् । जसअन्तर्गत प्रतिनिधिमुलक रुपमा २ सय ७७ जनाले नेतृत्व चयनमा मतदान गरेका छन् ।
१० जना बराबर १ जनाले प्रतिनिधिमुलक रुपमा मतदान गरेका संस्थाका नवनिर्वाचित सचिव सुर्य राईले सेतोपत्रलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ४ बर्षे कार्यकालका लागि निर्वाचन मार्फत कार्यसमिति चुनिएको हो ।
किसानको समस्या मेरो पहिलो प्राथमिकता : नवनिर्वाचित अध्यक्ष
सिंचाइका लागि सबै किसानको खेतमा पर्याप्त पानी पुर्याउन हरसम्भव प्रयास गर्ने नवनिर्वाचित अध्यक्ष ढकालले प्रतिवद्धता जनाउनुभएको छ । सेतोपत्रसगँ कुराकानी गर्दै उहाँले किसानको समस्या सधैँ पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको हो ।
‘इलामको रोङ क्षेत्रबाट पानी ल्याउनुपर्ने भएकाले भुगोल अत्यन्तै अप्ठ्यारो छ, त्यसलाई मर्मतसम्भार गर्दै पर्याप्त पानी ल्याउने काम हाम्रो पहिलो प्राथमिकता हो ।’ उहाँले भन्नुभयो ‘मुहान पनि असहज भएकाले मुहानलाई पनि मर्मत गर्दै सिंचाइको सुविधालाई सहज बनाउछौँ ।’