काठमाडौं । कास्कीको माछापुछ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र प्रवद्र्धक कम्पनी भिजन लुम्बिनीबीच स्वपुँजी लगानी सम्झौता भएको छ ।
आज पुस २४ गते शुक्रबार प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेड र एचआइडिसिएलबीच सम्झौता भएको हो । सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले हस्ताक्षर गरेका छन् । कूल स्वपुँजी मध्ये एचआइडिसिएलले १८.५२ प्रतिशत अर्थात २० करोड रुपैयाँ लगानी गर्ने टुंगो लागेको छ ।
एचआइडिसिएलले स्वपुँजी लगानी गरेको यो दोस्रो आयोजना हो । यसअघि रामेछापमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे–लिखुमा कम्पनीले ५० करोड स्वपुँजी लगानी गरिसकेको छ । एचआइडिसिएलले आगामी ५ वर्षभित्र १० अर्ब १२ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको छ ।
हाम्रो उद्देश्य ऋणभन्दा स्वपुँजी लगानी रहेको हुँदा सोही योजना अनुसार यस आयोजनामा लगानी गर्ने टुंगामा पुगेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनु भयो । ‘पारदर्शीता, सुशासन र जवाफदेहिताभित्र रहेर काम गर्ने टिम भएकोले पनि हामीले लगानी गरेका छौं,’ वहाँले भन्नुभयो, ‘आयोजना समयमै पूरा हुनेमा हामीले विश्वास लिएका छौं, पर्यटकीय नगरी पोखरा नजिक निर्माण हुने हुँदा आयोजना मोडल रूपमा विकास हुनेछ ।’
सेती नदीमा एनएमबी बैंक लिमिटेडको अगुवाईमा तीन वटा बैंक तथा वित्तीय संस्थाले ३.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । एनएमबी बैंक एक्लैले आयोजनामा २ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछ । यस्तै, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड लगानी गर्नेछन् ।
पछिल्लो समय जलविद्युत् लगानीमा केही विकृति देखिएको हुँदा यस्ता गतिविधि यस आयोजनाले चिर्ने विश्वास लिएको एचआइडिसिएलका उपमहाप्रबन्धक मुक्तिबोध न्यौपानेले बताउनु भयो। ‘आकर्षक आयोजना र कम्पनीको पारदर्शी व्यवस्थापन तथा सक्षम लगानीकर्ता भएको हुँदा पनि हामी स्वपुँजी लगानी गर्न आकर्षित भएका हौं,’ वहाँले भन्नु भयो ।
यस्तै, निर्धारित समयमै निर्माण पूरा गरेर शेयरधनीलाई उचित लाभांश तथा नाफा उपलब्ध गराउने प्रवद्र्धक कम्पनीका अध्यक्ष पोखरेलले बताउनु भयो । ‘लगानी, समय र अन्य सबै पक्षका दृष्टिले मोडल आयोजनाको रूपमा विकास गर्ने गरी हामीले काम गरिरहेका छौं,’ वहाँले बताउनु भयो ।
कूल ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रतिष्ठित व्यावसायिक घरानाको लगानी रहेको छ । २०७९ साउनभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् विद्युतगृहदेखि ४ किलोमिटर टाढा १३२ केभी लाहाचोक सबस्टेसनमा जोडिनेछ ।
हालसम्म करिब २५ प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाबाट वार्षिक १४८ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । रसुवा लुना जेभी कम्पनीले आयोजना निर्माणको जिम्मा पाएको छ । नदी प्रवाही प्रकृतिको आयोजनामा ५ मिटर उचाई र १३ मिटर लम्बाईको बाँध निर्माण हुनेछ ।
६ महिना बर्खा र ६ महिना हिउँदमा उत्पादित विद्युत् किन्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । पिपिए अनुसार प्राधिकरणले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपयाँमा विद्युत् किन्नेछ ।