झापा, भदौ ११ । बुधबार रसुवाको भोटेकोशी नदिमा आएको अप्रत्यासित बाढीका कारण धेरै ठूलो क्षती बेहोर्नु परेको छ । अहिलेसम्म कति क्षति भयो भन्ने यकिन तथ्याङ्क संकलन भइनसकेको गृह मन्त्रालयले जनाएको छ ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खाका विभिन्न बजार क्षेत्र पुर्णरुपमा ध्वस्त भएको छ भने सयौं मानिसको ज्यान गएको छ । सयौंको संख्यामा मानिसहरुलाई सरकारी संयन्त्रले उद्धार गरिरहेको छ । कैयन सम्पर्क बिहिन छन ।
यसैबिच उक्त बाढी प्रभावित क्षेत्रमा रहेका झापाका पाँच जना सम्पर्क बिहिन रहेको जानकारी आएको छ । अहिलेसम्मको अवस्थामा झापा मेचीनगरका एक, बुद्धशान्तिका ३ र गौरीगञ्जका एक जना सम्पर्क बिहिन भएको वहाँहरुका पारिवारिक स्रोतले जनाएको छ ।
मेचीनगर ६ काकरभिट्टाका दिपक खरेल, बुद्धशान्ति गाउँपालिकाका राजकुमार दियाली, उहाँकी श्रीमती सृष्टि दियाली र उहाँका तीन वर्षीय छोरा श्रीराज दियाली अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ भने गौरीगञ्ज वडा नंं ३ का केवलनाथ आचार्य सम्पर्क बिहिन भएको जानकारी आएको छ ।
खरेल र आचार्य अप्पर त्रिसुली जलविद्युत आयोजनामा कार्यरत हुनुहुन्छ भने दियाली परिवार के कामका लागि रसुवामा बसोबास गर्दै हुनुहुन्थ्यो भन्ने नखुले पनि उहाँहरु रोजगारीकै सिलसिलामा रहनु भएको थियो भन्ने स्रोतले जनाएको छ ।
यस बिषयमा झापाबाट विभिन्न काम गर्न वा तीर्थ गर्न गएका कति जना रसुवाको बाढीको चपेटामा परे भन्ने जानकारी नआएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाले भोटेकोशी बाढी क्षेत्रमा रहेका झापाका कोही उद्धार गर्नु पर्ने र परिवारको सम्पर्कमा नभएका व्यक्तिहरुको बारेमा जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन आव्हान गर्दै आज एक जरुरी सूचना जारी गरेको छ ।
