मंसिर १८ गते मेचीनगर १३ मा आफु चडेको गाडी जलाउने प्रयास गरेको मेचीनगरकी उपप्रमुख मिना उप्रेतीले लगाउनु भएको आरोप झुटो भएको नेपाल बिद्यार्थी संघ र नेपाली काँग्रेस झापाले स्पष्ट पारेको छ ।
मेचीनगरकी उपप्रमुख उप्रेतीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत चारआली धाइजन सडकखण्डमा गाडी रोकेर नेपाल बिद्यार्थी संघका कार्यकर्ताले आफु चडेको गाडी आगजनी गर्ने प्रयास गरेको आरोप लगाउनु भएको थियो ।
सोही साँझ नेपाल बिद्यार्थी संघा झापा सभापति राजेन्द्र उप्रेतीले बिज्ञप्ती मार्फत संघको सरकारी गाडी चलाउन नदिने कार्यक्रम अन्तर्गत मेचीनगरकी उपप्रमुख चडेको गडी नेबिसंघका कार्यकर्ताले रोक्न मात्र खोजेको तर आगजनी गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेको थियो भने नेपाली कांग्रेस झापाले मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीलाई गाडीभित्रै जलाउन खोजिएको भनेर प्रकाशित समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाडी रोकेको बिषयलाई उपप्रमुख उप्रेतीले गाडी भित्रै आफुलाई पनि जलाउने प्रयास भएको भन्ने अतिरञ्जीत र झुटो प्रचार गरेको नेबिसंघले बताएको छ ।
कांग्रेस झापाका सभापति उद्वव थापाले मंसिर १८ गते अपराह्न मेचीनगर नगरपालिका १३ चारआलीमा भएको भनिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनु भयो ।
कांग्रेस हत्या, हिंसा, तोडफोड, आगजनीजस्ता अराजक र आतंकित गतिविधिमा विश्वास गर्दैन, सभापति थापाले निकालेको विज्ञप्तिमा लेखिएको छ । उश्रृंखल गतिविधिलाई निरुत्साहित मात्र होइन सदाका लागि निर्मुल गर्नुपर्छ भन्ने मान्यतामा कांग्रेस अडिग रहेको बताइएको छ ।
विज्ञप्तिमा उक्त घटनामा नेविसंघ संलग्न नरहेको र कहिले पनि नरहने प्रष्ट पार्न चाहान्छौं भनिएको छ । नेविसंघ कार्यकर्ताले गाडीको चाबी नियन्त्रणमा लिन खोजेपछि उपमेयर उप्रेतीले गाडी भित्रै आफूलाई जलाउन खोजेको प्रचार गरेपछि झापा कांग्रेस दवाबमा परेको थियो ।
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तारको विरोधमा नेविसंघले मंसिर १८ गते सडकमा गुड्ने सरकारी गाडीको चाबी खोस्ने देशव्यापी कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अनुसार नेविसंघ कार्यकर्ताले चारआलीमा उपमेयर चढेको गाडी रोक्ने प्रयास गरेको घटनालाई अतिरञ्जित प्रचार गरिएको कांग्रेसले स्पष्ट पारेको छ ।
झापा कांग्रेसले लोकतान्त्रिक पद्दतिको उपहास गर्दै सरकारको निर्देशनमा प्रशासनबाट कांग्रेसका बरिष्ठ नेता पौडेलमाथि भएको धरपकड सर्वथा निन्दनीय रहेको लेखिएको विज्ञप्तिमा उक्त घटनाका दोषीउपर तत्काल कारबाही गर्न सरकारसँग माग माग गरिएको छ।