मेचीनगर, साउन १७ । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन झापाको चारआलीमा हुने भएको छ । चारआली जेसीजको आतिथ्यतामा असोज ९ र १० गते जेसीजको सन २०२६ को क्षेत्र ‘क’ सम्मेलन आयोजना गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाले जानकारी दिनुभयो ।
पुर्वी नेपालमा रहेका नेपाल जेसीज अन्तर्गतका ४६ वटा भन्दा बढी जेसीज शाखाहरुबाट करीब एक हजार प्रतिनिधि क्षेत्र ‘क’ सम्मेलनमा सहभागि हुन चारआली आउने सम्मेलनका निर्देशक उत्तमकुमार पकुवालले बताउनु भयो ।
चारआलीमा पहिलो पटक एक हजार भन्दा बढी मानिस सहभागि भएर हुन लागेको जेसीजको क्षेत्रीय सम्मेलनका कारण यस क्षेत्रको पर्यटन र व्यापारमा सकरात्मक परिणाम प्राप्त हुने सम्मेलन निर्देशक पकुवालले दाबी गर्नु भयो ।
सम्मेलनका लागि चारआलीमा निर्माण सम्पन्न हुन लागेको चारआली पार्टी प्यालेसलाई तयारी गरिएको सम्मेलन निर्देशक पकुवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । वहाँका अनुसार सम्मेलनमा सहभागि हुन एक जना जेसीज सदस्यले आवाससहित ५८००।– रजिष्ट्रेशन शुल्क बुझाउनु पर्नेछ । त्यस्तै आवास बाहेक ३८००।–, सन २०२५ का शाखा अध्यक्षहरुलाई आवास बाहेक २५००।– र जेसीजका नेपाल भरिका शाखाका पुर्व अध्यक्षहरुले २०००।– शुल्क बुझाएर सम्मेलनमा सहभागि हुन पाउने व्यवस्था मिलाइएको छ ।

सम्मेलन सम्पन्न गर्न करीब ४० लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त रकम संघीय, प्रदेश तथा स्थानीय सरकारबाट अनुदान, रजिष्ट्रशन शुल्क र बिज्ञापनदाता तथा चन्दादाताहरुबाट संकलन गरिने सम्मेलन निर्देशक पकुवाले प्रष्ट पार्नु भयो ।
सम्मेलनको सचिवाल उदघाटन तथा लोगो सार्वजनिक कार्यक्रमसहित गरिएको पत्रकार सम्मेलनका प्रमुख अतिथि कोशी प्रदेश सभाकी सदस्य सबिना बजगाईले आफुले समेत सम्मेलनका लागि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा चारआली जेसीजका सम्मेलनका सभापतिसमेत रहनु भएका नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष योगेश राजबंशी, संस्थापक अध्यक्ष बिष्णु रिमाल, धुलाबारी जेसीजका पुर्व अध्यक्षीय क्लवका अध्यक्ष बिपुल श्रेष्ठ र मेची उद्योग वाणिज्य संघका महासचिव तथा धुलाबारी जेसीजका पुर्व अध्यक्ष ध्रुव कनालले मन्तव्य राख्दै सम्मेलन सफल बनाउन सहयोगी भुमिका खेल्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका पुर्व अध्यक्षहरु गोपाल बस्नेत, लिलाप्रसाद भण्डारी, नेपाल जेसीजका उपाध्यक्ष मेनुका ओली, कोषाध्यक्ष सुजुब सुवेदी, मेचीनगर लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ प्रधान, धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकाल लगायतको सहभागिता रहेको थियो । चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाको सभापतित्व तथा सम्मेलनका सचिव बिरु बेघाको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।