झापा, साउन १३ । चार दिन अघि सुनसरीको कप्तानगञ्ज क्षेत्रमा भएको झडपका कारण उत्पन्न परिस्थिति पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अर्को आदेश नआउँदासम्मका लागि कर्फ्यु कायम रहने जनाएको छ ।
प्रशासनको आदेश अनुसार इटहरी उपमहानगरपालिकाको वडा नं. १६ र १७ क्षेत्र अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र, रामधुनी नगरपालिकाको वडा नं १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
त्यस्तै कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र, हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
कसैले पनि आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ । आदेश विपरीत कोही कसैबाट कर्फ्यु उल्लघंन भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
