मेचीनगर, असार २६ । संसदको दुवै सदनबाट पारित भइ राष्ट्रपतिबाट बिहिबार प्रमाणीकरण भएको सहकारी विधेयक २०८३ मा ‘परिवार’ भन्ने शब्दको परिभाषालाई फराकिलो बनाइएको छ । यस अघि सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम अपचलन गरी टाढाका नातेदारका नाममा राख्ने गरेको सन्धर्भलाई समेत ध्यान दिएर सहकारी विद्येयक पहिलो संसोधनमा परिवारको परिभाषालाई फराकिलो बनाइ बचत अपचलन गर्ने सञ्चालक तथा व्यवस्थापकले सम्पत्ति लुकाएको भन्ने यकिन भए जफत, बिक्री तथा असुली गर्न कानुनी बाटो खुलाएको हो । त्यसैगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई पनि थप जिम्मेवार र सबल बनाइ बचतकर्ताको पैसा असुल गरी फिर्ता गर्न सक्नेसम्मको अधिकार प्रदान गरिएको छ ।


स्वीकृत विधेयकमा ‘परिवार’ भन्ने शब्दको परिभाषामा अंशबन्डा र सम्बन्ध बिच्छेदको बहानाले सहकारीको रकम अपचलन भए असुली गर्न अब बाधा नपर्ने भएको छ । समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यको हकमा परिवारको परिभाषामा अंशबन्डा गरी, मानो छुट्टिइ वा सम्बन्धबिच्छेद भइ बसेको परिवारको सदस्य पनि परिवारभित्र परेको छ । त्यसका लागि लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेको, सहकारी ऐन र ऐनअन्तर्गतको नियमावली विपरीत कार्य गरेको खण्डमा परिवार भन्नाले अंशबन्डा भएको व्यक्ति पनि परिवारभित्र नै पर्छ ।

साथै, लिक्विडेसन वा खारेजीमा गएको सहकारी संस्थाको हकमा पनि परिवारको परिभाषामा फराकिलो भएको छ । अध्यादेशले नातेदारको परिभाषा बढाएको छ । नातेदार भन्नाले काका, काकी, भतिजा, भतिजी, नाति, नातिनी, नातिनी बुहारी, मामा, माइजु, भिनाजु, ज्वाइँ, भाञ्जा, भाञ्जी, साला, साली, जेठान, जेठानी, फुपू, फुपाजु, नातिनी ज्वाइँ, भिन्न भएका सासु–ससुरा, दाजु, भाइ, भाउजु, भाइ बुहारी र निजका एकाघरका सदस्य सम्झनु पर्छ र सो शब्दले आफू सदस्य रहेको सहकारी संस्थामा काम गर्ने कर्मचारीलाई समेत जनाउने विधेयकमा उल्लेख छ ।