धुलाबारी, असार १७ । रोटरी क्लव अफ मेचीनगरको अध्यक्षको कार्यभार दिनेश शाक्यले सम्हाल्नु भएको छ । रोटरीको अन्तराष्ट्रिय नियम अनुसार जुलाई १ तारिकदेखि नयाँ समितिको कार्यभार सुरु हुने भएकाले आजदेखि शाक्यले रोटरी क्लव अफ मेचीनगरको नेतृत्व सम्हाल्नु भएको हो । यस अघि रोटरी क्लव अफ मेचीनगरको अध्यक्ष शर्मिला पाठक रहनु भएको थियो ।
आज पहिलो दिन नै शाक्य नेतृत्वको रोटरी क्लव अफ मेचीनगरले विद्यार्थीको दाँत परीक्षण गरेर कार्यकाल सुरु गरेको छ । क्लवले मेचीनगर १५ स्थीत ज्यामिगढीमा रहेको ज्ञानदिप प्राविका विद्यार्थीहरुलाई दाँत परीक्षण गराईएको अध्यक्ष शाक्यले बताउनु भयो । धुलाबारीस्थीत श्री सिटी डेन्टल केयरको प्राविधि सहयोगमा विद्यालयका करीब ९० जना विद्यार्थीको निशुल्क दाँत परीक्षण गरिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

डेन्टल सर्जन डा लक्ष्मी कार्की र प्राविधिक सहयोगी मनिसा मेचेको टोलीले वालवालिकाहरुको दाँतको परीक्षण गरी समस्या पहिचान र त्यसको उपचार समेत गर्नु भएको अध्यक्ष शाक्यले बताउनु भयो । अध्यक्ष शाक्यका अुनसार ज्ञानदिप प्राविका सबै विद्यार्थीको दाँतको परीक्षणसंगै उनीहरुलाई दाँत सफा गर्ने ब्रस र पेष्ट समेत वितरण गरिएको थियो ।
अध्यक्ष शाक्यको सभापतित्वमा आयोजित दाँत परीक्षणको उदघाटन कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्री, विद्यालयकी प्रधानाध्यापक अन्जु भट्टराई, पत्रकार ज्ञानेन्द्र निरौलाले वालवालिका स्वास्थ्यमा महत्वपुर्ण मानिने दाँतको परीक्षण गरेर कार्यकाल सुरुवात गर्नुले रोटरी क्लव अफ मेचीनगरको नयाँ समितिले प्रभावकारी काम गर्ने सन्देश फैलाएको बताएका थिए ।
क्लवका प्रेसिडेन्ट इलेक्ट भुमी पौड्ेल, प्रथम उपाध्यक्ष ध्रुव ओली, सदस्य धर्मेन्द्र खड्का लगायतको उपस्थीति रहेको कार्यक्रम सञ्चालन क्लवका सचिव निरज श्रेष्ठले गर्नु भएको थियो ।