झापा,असार १४। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
आज कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
गए राति पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा पानी परेको थियो । आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै मंगलबार कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण बाढी, डुबान, पहिरो र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

असारको मध्यसम्म पनि पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा धान रोपाइँ प्रभावित भएको छ। तर अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा रोपाइँका लागि आवश्यक वर्षा हुने मौसमविद्को अनुमान छ।
मंगलबारदेखि पश्चिम तराईका क्षेत्रमा पनि वर्षा सुरु हुने सम्भावना रहेको छ। पूर्वी क्षेत्रबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको मनसुन थप सक्रिय हुने र आगामी साताभर देशका अधिकांश स्थानमा पर्याप्त वर्षा हुने मौसमविद्ले बताएका छन्।