झापा, असार ११ । बर्षेनी बाढी र डुबानको चपेटामा पर्ने दक्षिणी झापाको झापा गाउँपालिकामा रोटरी क्लव अफ मेचीनगरले विद्यालय भवन र शौचालय निर्माण गरिदिएको छ ।
बाढीका कारण बर्षेनी विद्यालयको पठन पाठन नै अबरुद्ध हुने अवस्था देखिए पछि झापा गाउँपालिका वडा नं. २ स्थीत कुवाडी देवी माविको चार कोठाको विद्यालय भवन निर्माण गरी हस्तान्तरण गरिएको रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष शर्मिला पाठकले बताउनु भयो । ‘बाढीको समयमा बिद्यालयका कोठाहरु नै डुबानमा परेको देख्यौं,’ भवन हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पाठकले भन्नुभयो, ‘बाढी आउँदा समेत डुबान नहुने गरी जमिनको सतहभन्दा एक मिटर अग्लो पारेर पुरानो भवनलाई पुर्ननिर्माण गरेर पठन पाठनलाई सचारु गर्न सहज बनाएका छौं ।’
रोटरी क्लव अफ मेचीनगरले झापा गाउँपालिका वडा नं. २ को सिमलबारी आधारभूत विद्यालयमा नयाँ शौचालय समेत निर्माण गरिदिएको छ । त्यस्तै डुबानको समयमा समेत प्रयोग गर्न मिल्ने उच्च सतही चापाकल झापा गाउँपालिकाका विभिन्न वडाहरुमा १२ वटा निर्माण गरिदिएको अध्यक्ष पाठकले बताउनु भयो ।
बिहिबार कुवाडी देवी माविमा आयोजित एक कार्यक्रमकाबीच पुर्ननिर्मित भवन, शौचालय, उच्च सहती चापाकल हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको छ । अध्यक्ष पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रम प्रमुख अतिथि थपलियाले विद्यालय भवन सहित शौचालय र चापाकल निर्माण गरिदिएर रोटरीले बाढी पिडित क्षेत्रका आम नागरिकप्रति गुन लगाएको बताउनु भयो । मानविय सेवाका लागि रोटरीलाई पालिकाकै तर्फबाट थपलियाले आभार समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा रोटरी डिस्ट्रिकका विपद व्यवस्थापन समितिका संयोजक सन्तोस ज्ञवाली, दातृसंस्था एलडिएससीका प्रतिनिधि कार्ल जोनसन र लिण्डा जोनसन, झापा गाउँपालिका वडा नं २ का वडाअध्यक्ष हिमाल चौलागाई, रोटरी डिस्ट्रिकका असिटेन्ट गर्भनर विनोद चापागाई, रोटरी डिस्ट्रिकका डि एल फ को चियर कुमारमणी पोखरेल, कुवाडी देवी माविका प्रधानाध्याक मुकेशकुमार कर्ण लगायत विद्यालय भवनको पुर्ननिर्माणले डुबानको समयमा पठन पाठनलाई निरन्तरता दिन सहज हुने बताउनु भयो ।
रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष किशोर क्षेत्रीले स्वागत तथा कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो भने संस्थाका सचिव पवित्रा बिमली प्रसाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही कार्यक्रमकाबीच कुवाडी देवी माविका करीब २५० विद्यार्थीका लागि ट्रयाकसुट, विद्यालय पोषक र शैक्षिक सामग्री वितरण समेत गरिएको अध्यक्ष पाठकले बताउनु भयो ।
रोटरी क्लव अफ मेचीनगरको अगुवाईमा विपदमा काम गर्ने अन्तराष्टिय संस्था एलडिएससी, रोटरी इन्टरनेशनल, रोटरी क्लव अफ काठमाण्डौ मेट्रो र रोटरी डिस्ट्रिक ३२९२ आर्थिक सहयोग तथा रोटरी क्लव रिजन ७ का विभिन्न क्लवहरुको सहयोगमा विद्यालय भवन, शौचालय र उच्च सतही चापाकल (हाइरेज ट्यूवेल) निर्माण गरीएको बताइएको छ ।