झापा, असार ७ । जिल्ला प्रहरी कार्यालय झापाले लागू औषध नियन्त्रण गर्न अभियान सञ्चालन गरेको छ । शनिवार बिर्तामोडमा एक भव्य कार्यक्रमकाबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगू औषध नियन्त्रण अभियान Jhapa Action Against Narcotics (JAAN) को सुभारम्भ गर्नु भयो । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको समेत बिषेश उपस्थिति रहेको थियो ।

जिल्लामा लागू औषध प्रयोगकर्ता र कारोबार दैनिक बढिरहेकाले अभियान नै सञ्चालन गरेर नियन्त्रणमा लाग्नु परेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताउनु भयो । Jhapa Action Against Narcotics (JAAN) अभियानका बारेमा बताउँदै प्रहरी प्रमुख खड्काले समुदायलाई समेत साथमा लिएर विभिन्न तरिकाबाट आगू औषध नियन्त्रणको काम गर्ने बताउनु भयो ।
वहाँका अनुसार अभियानका मुख्य ३ रणनीति अन्तर्गत काम गर्ने योजना प्रहरीले बनाएको छ । जोखिममा रहेका युवा र विद्यार्थी लक्षीत जनचेतना र परामर्शको काम गरी उनीहरुको व्यवहार परिवर्तन गराउने झापा प्रहरी प्रमुख खड्काले बताउनु भयो । जसबाट लागू औषधको मागमा कमी आउने खड्काको दाबी छ ।

त्यस्तै दोस्रो रणनीतिका रुपमा लागू औषधको आपुर्तिमा नियन्त्रण गर्ने रहेको छ । जसका लागि तस्करीको सञ्जालको पहिचान गरी कारबाही गर्ने, सिमावर्ती क्षेत्रमा कडा निगरानी गर्ने र अवैध बिक्रि वितरणमा नियन्त्रण गर्ने प्रहरीले रणनीति बनाएको छ ।
त्यसैगरी तेस्रो रणनीतिका रुपमा क्षति न्यूनिकरण गर्ने प्रहरीले बताएको छ । जसका लागि प्रारम्भिक पहिचान, परामर्श, सुधार केन्द्रसंग समन्वय, उपचारमा प्रभावकारिता र समाजमा पुर्नस्थापना गरिने छ ।

लागू औषध नियन्त्रणका लागि झापा प्रहरीले विभिन्न सामाजिक गतिविधि समेत सञ्चालन गर्ने भएको छ । जस अन्तर्गत जिल्लाका १५० भन्दा बढी शिक्षकलाई तालिम दिने भएको छ । जसमा दुव्यर्सनीको प्रारम्भिक लक्षण पहिचान गर्ने, आधारभूत परामर्श र रिफरल सिस्टमबारेमा शिक्षकलाई प्रशिक्षित गरिने छ ।
त्यस्तै जिल्लाका सबै विद्यालयहरुमा सचेतनामूलक पोष्टर टाँसिने छ भने सामाजिक सञ्जालमार्फत निरन्तर सन्देश प्रवाह गरिने छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले विभिन्न फुटबल क्लवहरु मार्फत समेत सूचना आदान प्रदान गर्ने योजना बनाएको छ । प्रहरी प्रमुख खड्काका अनुसार जान अभियान अन्तर्गत प्रहरी र स्थानीय युवाहरुबीच मैत्रीपुर्ण खेलकुदमार्फत सामिप्यता बढाउने र सूचना आदान प्रदान गरिन्छ ।

अभियानको सफलताका लागि प्रहरीले जान क्लव समेत गठन गर्ने भएको छ । जिल्लाका ७१ प्रहरी इकाईहरुमार्फत समुदायस्तरमा जान क्लव गठन गर्ने र सचेतनामूलक कार्यक्रम गरिने छ । त्यस्ता क्लवहरुमध्ये उत्कृष्ट काम गर्ने क्लवलाई सम्मान गर्ने झापाकी प्रहरी प्रमुख खड्काले बताउनु भयो ।