मेचीनगर, असार ३ । जंगली हात्तीले अति प्रभावित भएको झापा मेचीनगरको बाहुनडाँगी क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरी हात्तीबाट हुने क्षती न्यूनीकरणको प्रक्रिया सुरु भएको झापा १ की प्रतिनिधि सभा सदस्य निशा डाँगीले बताउनु भयो । वहाँले हात्ती नियन्त्रणका लागि भनेर नै बाहुनडाँगीमा स्थायी रुपमा सशस्त्रको क्याम्प राख्ने पहल भइरहेको बताउनु भयो ।
‘बाहुनडाँगी क्षेत्रको हात्ती नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयबाटै प्रक्रिया सुरु भएको छ,’ सांसद डाँगीले सेतोपत्रसंग भन्नुभयो, ‘तत्काललाई सशस्त्रको एउटा टोली परिचालन हुन्छ तर हात्तीले गर्ने क्षती न्यूनीकरण गर्न र स्थानीयको सुरक्षाका लागि सशस्त्र प्रहरीको स्थायी क्याम्प राख्ने तयारी भइरहेको छ ।’ यस बिषयमा प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालयमा निर्देशन भइसकेको समेत सांसद डाँगीले बताउनु भयो ।
बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि आज भोलि नै सशस्त्र प्रहरी परिचाल हुने चर्चा चलिरहे भए पनि यस बिषयमा जिल्लाको सशस्त्र मुख्यालयलाई भने कुनै जानकारी छैन । सशस्त्र प्रहरी बल झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीले हात्ती नियन्त्रणका लागि बाहुनडाँगीमा परिचालन हुने कुराका बारेमा कुनै जानकारी आइनपुगेको बताउनु भयो ।
‘हात्ती नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गर्ने बिषयमा हामीलाई कुनै जानकारी आएको छैन,’ सेतोपत्रसंग जोशीले भन्नुभयो, ‘यस्तो निर्णय भएको भए केही खबर त पक्कै आउनु पर्ने हो तर अहिलेसम्म आएको छैन ।’
जोशीले जंगली हात्ती नियन्त्रणका लागि यस अघिदेखि नै सशस्त्र प्रहरीकाले सहयोगी भूमिका खेलिरहेको र साइरन समेत उपलब्ध गराएको बताउनु भयो ।
जंगली हात्तीको आक्रमणका कारण केही दिन अघि मात्रै मेचीनगर ४ स्थीत ६२ बर्षीया पद्मा पौडेलको मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा नै हात्तीको आक्रमणमा परी पौडेलको मृत्यु भएको थियो । यस अघि पनि फरक फरक समयमा भारततर्फबाट आउने जंगली हात्तीको आक्रमणमा परि २० भन्दा बढी बाहुनडाँगीका स्थानीयहरुले ज्यान गुमाइसकेका छन ।