झापा,असार २ । यसबर्ष नेपालमा मनसुन प्रवेश केही दिन ढिलो गरि हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन ।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो विभागले विज्ञप्ति निकालेर भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले भू–उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकोले यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ । एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुनसमेत कमजोर हुन सक्ने सम्भावना रहेको बिभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसुन ढिलो भित्रिएको तथ्याङ्क छ । विगतमा सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, सन् २००२, २००९ २०१६, २०१९ र २०२३ मा पनि मनसुन ढिला प्रवेश भएको थियो ।
मनसुन केही ढिलो प्रवेश गर्ने भएपनि पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बर्षा भने दैनिकजसो नै भइरहेको छ ।
