मेचीनगर, बैशाख ८ । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थागत रुपमा उम्मेद्वारी नदिने भएको छ । रास्वपाका नेता कमल गौतमले सेतोपत्रसंग कुरा गर्दै भन्नुभयो, ‘राजनिति गर्न नहुने संघ संस्थाहरुमा हाम्रो पार्टीले निर्णय गरेर उम्मेद्वार उठाउँदैनौं ।’ मेची उद्योग वाणिज्य संघमा पनि पार्टीले निर्णय गरेर उम्मेद्वारी दर्ता नगर्ने गौतमले बताउनु भयो ।
वाणिज्य संघको निर्वाचनका लागि सर्बपक्षिय छलफल गरी साझा नेतृत्व चयन गर्न रास्वपाका तर्फबाट समन्वयकारी भुमिकाको नेतृत्व गरिरहनु भएका नेता गौतमले भन्नुभयो, ‘व्यवशायीहरु आ–आफु कुन कुन पदमा उम्मेद्वारी दिने हो त्यो कुरामा पार्टीका तर्फबाट कुनै हस्तक्षेप हुँदैन, रास्वपाले निर्णय गरेर कसैलाई पनि यो पदको उम्मेद्वार भनेर भन्दैन ।’
वाणिज्य संघलाई दलिय राजनितिबाट मुक्त गरेर व्यवशायीहरुको हितमा काम गर्ने छाता संस्थाको रुपमा मात्रै विकास गर्न सबै दल र पक्षसंग छलफल गरेर साझा उम्मेद्वार तय गर्न छलफल गरिरहेको समेत गौतमले बताउनु भयो । वहाँका अनुसार वैशाख ८ गते मंगलबार (आज) रास्वपाकै सक्रियतामा सबै राजनितिक दल र अन्य पक्षहरुसंग पनि सर्बपक्षीय छलफलको आयोजना गरिएको छ ।
मेचीनगरका व्यवशायीहरुको छाता संगठन मेची उद्योग वाणिज्य संघको यही बैशाख २६ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई लिएर विभिन्न व्यवशायीहरुले उम्मेद्वारी गोषणा गर्ने क्रम चलिरहेको छ ।
यसैबीच संघको अध्यक्षका लागि तीन जनाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । संघका वर्तमान अध्यक्ष खेम प्रसाईले पुन दोहोरिने मन सहित अध्यक्षमा दाबी गर्नु भएको छ भने संघका वर्तमान बरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले आगामी कार्याकालका लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । त्यस्तै संघका वर्तमान उपाध्यक्ष भुमी पौडेले पनि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।
१६ सदस्यीय कार्यसमिति चयन हुने वाणिज्य संघको अन्य पदहरुमा समेत विभिन्न व्यवशायीहरुले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरिरहनु भएको छ ।