मेचीनगर, चैत २८ । झापाको मेचीनगर नगरपालिकाका दुई वडा अध्यक्षले नगर कार्यपालिका बैठकको निर्णय प्रति आपत्ति जनाएका छन । शहिद मार्ग निर्माण सम्बन्धी नगरकार्यपालिकाको चैत २ गते बसेको बैठकले गरेको निर्णयप्रति मेचीनगर ९ र १० का वडाअध्यक्षले लिखित रुपमा असहमति जनाउनु भएको छ ।
मेचीनगर वडा नं. ९ र १० मा निर्माणाधिन रहेको शहिद मार्गको चौडाई घटाउने गरी भएको कार्यपालिकाको निर्णय बिरुद्ध वडा नं ९ का वडा अध्यक्ष कञ्चन तामाङ र वडा नं. १० का वडा अध्यक्ष नारायण खनालले आपत्ति जनाउँदै लिखित असहमति राख्नु भएको हो ।
२०८२ चैत २ गते बसेको कार्यपालिका बैठकको निर्णय पुस्तिकाको अन्त्यमा वडा अध्यक्षद्वयले लिखित असहमति जनाएको कागजात सेतोपत्रलाई प्राप्त भएको छ । सेतोपत्रलाई प्राप्त भएको वडा अध्यक्षद्वयले राखेको लिखित असमतिमा भनिएको छ, “बैठकको निर्णय नं. २० अन्तर्गत नेपाल शहरी साशकीय तथा पुर्वाधार आयोजना अन्तर्गत मेनपा ९ र १० मा निर्माणाधिन शहीद मार्गको चौडाई घटाउने गरी लेखिएको निर्णय प्रति हाम्रो गम्भिर असहमति र आपत्ति प्रकट गर्दछौं ।”
बैठकमा प्रस्तुत नै नभएको, छलफल नै नभएको र निर्णय नै नभएको बिषय निर्णय पुस्तिकामा थप गरेर लेख्नु कार्यपालिका बोर्ड प्रतिको अपमान भएको वडा अध्यक्षद्वयले लिखित असहमतिमा जनाउनु भएको छ । वडाअध्यक्षद्वयले असमितमा भन्नुभएको छ, “कुनै स्थानमा सार्वजनिक संस्थाको क्षति गरी बजार क्षेत्रमा सामान्य रुख र मन्दीर बचाउन घटाउने निर्णय तत्काल सच्याउन अनुरोध गर्दछौं ।”
सेतोपत्रलाई प्राप्त भएको कार्यपालिकाको बैठकको निर्णय पुस्तिकामा वडा अध्यक्षद्वय तामाङ र खनालले राखेको लिखित असहमति ।
शहिद मार्ग निर्माणका लागि मेचीनगर ९ को कवि शिरोमणी माविको कक्षा कोठा भवन नै भत्काइएको थियो भने धुलाबारी बजार क्षेत्रमा सामान्य पसल, ऐलेनी जग्गामा बनेका घर र सडक किनाराका रुख र मन्दीर बचाउन सडकको चौडाई घटाउने निर्णय कार्यपालिकाले गरेको प्रति वडा अध्यक्षद्वयले आपत्ति जनाउनु भएको हो ।
कार्यपालिका बैठकको निर्णय पुस्तिकामा गरेको उपस्थितिको हस्ताक्षरलाई दुरुपयोग गरेर बैठकमा प्रवेश नै नभएको बिषयको निर्णय लेखिएकाले आफुहरुले आपत्ति जनाएको मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले सेतोपत्रलाई बताउनु भयो । “शहिद मार्गको चौडाई घटाउने कुरा कुनै पनि शर्तमा स्वीकार्य छैन,” वडा अध्यक्ष खनालले भन्नुभयो ।
नगरपालिकाले चैत २ गतेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक नगरी चैत २० गतेको निर्णय सार्वजनिक गरेको थियो । त्यस बिषयमा सेतोपत्र डटकमले समाचार प्रकाशन गरेको थियो । सेतोपत्रले समाचार प्रकाशन गरे पछि शहिद मार्गको चौडाई घटाउने बिषयमा कार्यपालिकाले निर्णय गरेको बिषय सार्वजनिक भएको थियो । चौतर्फी दबाब पछि नगरपालिकाले चैत २ गतेको निर्णय वेबसाईड मार्फत सार्वजनिक गरेको हो । तर उक्त निर्णयबिरुद्ध वडा अध्यक्षद्वयले राखेको लिखित असमति भने नगरपालिकाले अहिलेसम्म सार्वजनिक गरेको छैन ।