मेचीनगर, चैत २३ । झापाको मेचीनगर नगरपालिका वडा नं. ७ को अरनिको माद्यमिक विद्यालयमा रोटरी क्लव अफ मेचीनगरले छात्रामैत्री शौचालय बनाइदिएको छ । ग्रामिण क्षेत्रमा रहेको विद्यालयमा शौचालय नहुँदा छात्राहरुले दैनिक रुपमा समस्या भोग्नु परेकाले छात्रामैत्री शौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताउनु भयो ।
करीब सात लाख ५० लाखको लागतमा निर्मित दुईकोठे पक्की शौचालयको सोमवार एक कार्यक्रमकाबीच उदघाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । रोटरी क्वलकी अध्यक्ष पाठक, मेचीनगर वडा नं. ७ र १५ का वडाध्यक्षद्वय प्रह्लादमणि ओली र राजन भट्टराई, क्लवका संस्थापक अध्यक्ष कपिल क्षेत्री लगायत रोटरीयनहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतले शौचालय भवनको शिलापत्र अनावरण गर्दै शौचालय सञ्चालनमा आएको घोषणा गरिएको थियो ।

शुरुवातमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजनाले काम सुरु गरिएको भए पनि विद्यालयमा छात्रहरुका लागि पनि शौचालय आवश्यक देखिएकाले छात्रा र छात्रहरुका लागि नै प्रयोग गर्न मिल्ने गरी शौचालय निर्माण गरिएको अध्यक्ष पाठकले बताउनु भयो ।
रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष पाठकको सभापतित्वमा सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि मेचीनगर वडा नं. ७ का वडाअध्यक्ष प्रल्हालदणी ओलीले विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरिदिएर रोटरी क्लवले अत्यन्तै सह्रायिन कार्य गरेको बताउनु भयो । वहाँले रोटरी क्लव अफ मेचीनगरको प्रशंसा गर्दै मानविय सेवामा गरिने काममा वडा कार्यालयले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

उक्त शौचालय भवन निर्माणका लागि रोटरी क्लव अफ मेचीनगरले विभिन्न संस्थाहरुबाट सहयोग जुटाएको थियो । भवन निर्माणका लागि नबिल बैंक, महालक्ष्मी बैंक, रोटरी डिष्ट्रिक ३२९२ को आधारभूत शिक्षा तथा साक्षरता समिति र मेचीनगर वडा नं. ७ को कार्यालयले केही रकम सहयोग गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्रीले सेवाको भावनाले काम गर्ने भएकाले रोटरीले सेवा क्षेत्रहरु पहिचान गरि मानविय सेवामा काम गर्ने बताउनु भयो । वहाँले अरनिको माविको आवश्यकता छात्रामैत्री शौचालय भएकाले सोही काम सम्पन्न गर्न पाएकोमा खुसी लागेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईले आर्थिक संकटबाट गुज्रिरहेको एउटा ग्रामीण विद्यालयलाई सहयोग पुर्याएको भन्दै रोटरी क्लव र दाताहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभयो । विद्यालयका अध्यक्ष निर्मलकुमार खत्रीले रोटरी क्लव अफ मेचीनगरलाई धन्यवाद पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नविल बैकका क्लस्टर हेड केशव गौतमले शुभकामना दिंदै गाउँको विद्यालयमा गरिएको काममा सहयोग गर्न पाउँदा हर्षित भएको बताउनु भयो ।
रोट्रयाक्ट क्लव अफ मेचीनगरका अध्यक्ष राज अग्रवाल, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका पुर्व अध्यक्ष, पुर्व विद्यार्थी लगायत स्थानीय अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरकी सचिव पवित्रा विमली प्रसाईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष कमल कोइरालाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम ज्ञानेन्द्र निरौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।