झापा, चैत २० । बर्ड फ्लुको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लुको संक्रमण फैलिएको छ ।
बर्ड फ्लुको संक्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा। गंगाराम यादवले जानकारी दिनुभयो ।
मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लुको संक्रमण देखिएको हो । ७० हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको वरिष्ठ पशु विकास अधिकृत यादवले बताउनुभयो । कुखुरासँगै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।
संक्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पन्छिजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको छ । विभागले संक्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाउँदै अन्य जिल्लामा निगरानी बढाएको छ ।
नेपालमा पहिलो पटक सन् २००९ को जनवरीमा ‘बर्ड फ्लु’ देखिएको थियो। त्यसयता नेपालका विभिन्न जिल्लाहरूमा पटक–पटक यो संक्रमण बल्झिँदै आएको छ। २०७६ वैशाखमा नेपालमा बर्ड फ्लुका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो।
बर्ड फ्लु मुख्यतया पंक्षीहरूमा लाग्ने रोग भए तापनि यो मानिसमा सर्ने जोखिम सधैँ रहन्छ। मानिसमा संक्रमण भएमा उच्च ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र श्वासप्रश्वासमा गम्भीर समस्या जस्ता लक्षणहरू देखिन सक्छन्।