झापा,चैत २०। प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
सिंहदरबारमा रहेको सङ्घीय संसद् सचिवालयमा पुगेर महासचिव पदम पाण्डेलाई सभामुख पदको उम्मेदवारीका लागि अर्यालले मनोनयनपत्र बुझाउनुभएको हो । उहाँको प्रस्तावकमा पार्टीका सभापति तथा सांसद रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल हुनुहुन्छ ।
अर्याल गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ क्षेत्र नम्बर–९ बाट निर्वाचित हुनुभएको हो । यसअघि उहाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत बन्नुभएको थियो ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन् । शीर्ष नेताहरुको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेले जनमतको सम्मान गर्दैे सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरिएको जानकारी दिनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने र रास्वपाका उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको बुझिएको छ ।
सभामुख पदको चुनाव पर्सि आइतवार गर्ने तालिका छ । रास्वपा प्रतिनिधिसभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित छ । रास्वपाको हिजाे बसेको बैठकले सभामुखमा उपसभापति अर्याललाई अघि सार्ने निर्णय गरेको थियो ।
सभामुख पदको चुनावपछि चैत २३ गते राष्ट्रियसभा उपाध्यक्ष पदका लागि चुनाव हुनेछ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।