मेचीनगर, फागुन २४ । फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं. १ मा १२ जना उम्मेद्वारको जमानत जफत भएको छ । निर्वाचन कानून अनुसार कुल सदर मतको दश प्रतिशत भन्दा कम मत ल्याउने उम्मद्वारको जमानत जफत हुन्छ ।
झापा १ मा १५ जना उम्मेद्वार चुनावी मैदानमा थिए । त्यस मध्ये तीन दलका उम्मेद्वारले मात्रै दश प्रतिशत भन्दा बढी मत ल्याएका छन । बाँकी १२ जना उम्मेद्वारले दश प्रतिशत भन्दा कम मत ल्याएका कारण उनीहरुको जमानत जफत भएको हो । उम्मेद्वारी दर्ता गर्दा पुरुष र अन्य समुदायका उम्मेद्वार १० हजार तथा महिला र विभिन्न संरक्षित क्लष्टरमा पर्ने समुदायका उम्मेद्वारले ५ हजार जमानत (धरौटी) राखेका हुन्छन । दश प्रतिशत मत नकटाउनेले उक्त जमानत फिर्ता पाउँदैनन ।
झापा १ मा विजयी हुने उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगीले ४५६८० मत पाउनु भएको छ भने नेपाली काँग्रेसका केशवराज पाण्डेले १०५५० मत पाउनु भएको छ । त्यस्तै श्रम संस्कृति पार्टीका केवलराम राईले १०,००४ मत पाउनु भएको छ । वहाँहरु तीन जना बाहेक अन्य सबै उम्मेद्वारको जमानत जफत भएको हो ।
झापा १ मा जमानत जफत हुनेमा बलियो संगठन संरचना भएको नेकपा एमालेका उम्मेद्वार रामचन्द्र उप्रेती समेत पर्नु भएको छ । शनिबार बेलुका ८ः१५ बजे सम्पन्न भएको मतगणना अनुसार झापा १ मा कुल सदर मत ७९२९५ रहेको छ । जमानत जोगाउनका लागि ७९३० मत आवश्यक पर्छ । तर एमालेका उम्मेद्वार उप्रेतीले ७६५९ मत मात्रै प्राप्त गर्नु भएकाले वहाँको जमानत जफत भएको हो ।
त्यस्तै अन्य उम्मेद्वारहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमराज कार्की १६१२, मंगोल नेशनल अर्गनाइजेशनका सन्तोस तामाङ ९७१, नेपाली कम्युनिष्ट पार्टीका अषेश घिमिरेले ९२२, उज्यालो नेपाल पार्टीका नरेश लावतीले ४८५, नेपाल सदभावना पार्टीका ओलिन राजबंशीले १०९, संघीय लोकतान्त्री राष्ट्रिय मञ्चका मान बहादुर साँवा लिम्बुले ९९, स्वतन्त्र उम्मेद्वार दुर्गा प्रसाद साँवा लिम्बुले ८४, जनता समाजवादी पार्टीका रमा मेचेले ४३, स्वतन्त्र उम्मेद्वार गणेश कुमार खरेलले ३३, नेपाल मजदुर किसान पार्टीका हिरण्य प्रसाद भट्टराईले २३ र नेपाल जनमुक्ती पार्टीका खान्द्रु करुवाले १७ मत प्राप्त गर्नु भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । चुनावको केही दिन अघि मात्रै जनमुक्ती पार्टीका करुवाले नेकपाका उम्मेद्वार घिमिरेलाई समर्थन गरेको घोषणा गरेको भए पनि मतपत्रमा वहाँको चुनाव चिन्ह रहेकाले मत खसेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी (जमानत) जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ ।
