धुलाबारी, फागुन २३ । मेचीनगर लेडी जेसीजले विभिन्न क्षेत्रका १५ जना महिलाहरुलाई एउटै मञ्चमा सम्मान गरेको छ । ११६ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर शनिवार मेचीनगर लेडी जेसीजको सचिवालयमा आयोजित नारी सम्मान कार्यक्रममा महिला क्रिकेटका अन्तराष्ट्रिय खेलाडीदेखि प्राज्ञ सदस्यसम्म र पुर्व शिक्षकदेखि कर्मचारीसम्मलाई सम्मान गरिएको थियो ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ प्रधानको सभापतित्वमा सम्पन्न नारी सम्मान कार्यक्रममा सम्मानित हुनेहरुमा बम्हाकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी मुख्य सञ्चालिका अनिसा दिदि, पुर्व प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, अधिवक्ता लक्ष्मी खनाल, पत्रकार अम्बिका भण्डारी र महिला अधिकारकर्मी राधा प्रधान कार्की रहनु भएको छ ।

त्यस्तै स्काउटकर्मी भुवन सुब्बा, रंगकर्मी कविता नेपाल, उद्यमी पुनम प्रधान राई, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य रिया शर्मा र सेवा निबृत्त शिक्षक हरिमाया लिम्बुलाई समेत सम्मान गरिएको छ ।
त्यसैगरी धुलाबारी जेसीजकी पुर्व अध्यक्ष लक्ष्मी राई, मेचीनगर नगरपालिकाका कर्मचारीद्वय पवित्रा सुब्बा, पवित्रा बस्नेत, मेचीनगर लेडी जेसीजका लागि जग्गा दान गर्नु हुने जगतकुमारी खनाल र लेडी जेसीजको दीर्घ कालिन परियोजनामा समन्वय गरी सहयोग गर्नु हुने गंगा परियारलाई एक भब्य कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

धुलाबारीस्थीत मेचीनगर लेडी जेसीजको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, संस्थाकी अध्यक्ष रिता श्रेष्ठ लगायतले महिलाहरुलाई अविर, खादा र सम्मान पत्रले सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, संस्थापक अध्यक्ष शर्मा, सम्मानित सुभद्रा भट्टराई र पत्रकार ज्ञानेन्द्र निरौलाले सम्मानितहरुलाई बधाई सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मेचीनगर लेडी जेसीजकी कार्यकारीणी उपाध्याक्ष नविना डाँगीले स्वागत मन्तव्य गरेको कार्यक्रम महासचिव कल्पना उप्रेती प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।