झापा, फागुन ९ । वि.सं.२०४८ पछिका सबै निर्वाचनमा आलोपालो जस्तै गरी जित निकाल्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेका लागि झापा निर्वाचन क्षेत्र नं.१ मा यसपाली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनौतिको बलियो घण्टी बजाइरहेको छ ।
२०७९ सालको प्रतिनिधिसभा चुनावमा बिजयी हुँदा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ३९ हजार ६२४ मत प्राप्त गर्नु भएको थियो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत ल्याउनु भएको थियो ।
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले आठ हजार ५६४ मत प्राप्त गर्नु भएको थियो भने कांग्रेसलाई तत्कालीन नेकपा माओबादी केन्द्र र एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले गठबन्धन अन्तर्गत सघाएका थिए ।
अहिले माओबादी र एकीकृत समाजबादी मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट अशेष घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की आफै उम्मेद्वार हुनुहुन्छ । तीन वर्ष अघि त्यत्रो ठूलो जनमत पाएका पुराना दललाई चुनौति दिने तहसम्म शक्ति आर्जन गर्नु रास्वपाका लागि चानचुने उपलब्धि होइन ।
बिगत तीन वर्षमा मेची र निन्दामा धेरै पानी बगिसक्यो । राजनीतिक जनाधारमा पनि परिवर्तन भयो होला भन्ने तर्क आउनु स्वाभाविक हो । नयाँ परिणामको आँकलनका लागि यसलाई महत्त्वपूर्ण आधार बनाउन सकिन्छ ।
एक हप्ताको अवधिमा बाहुनडाँगीको तिरिङदेखि ज्यामिरगढीको फडानी गाउँसम्म, काँकरभिट्टादेखि चारआलीसम्म र शान्तिनगरको गौंडादेखि चन्द्रगढीको चोकसम्मका दर्जनौं बस्ती बुझ्दा घण्टी बज्ने हल्ला निकै सुनियो । रास्वपाका कार्यकर्ता मात्र नभएर कांग्रेस र एमालेका कतिपय कार्यकर्ता पनि यस्तै हल्ला फैलिएको सुनाउँछन ।
उम्मेद्वारी दर्ता हुनुभन्दा पहिलेदेखि नै फैलिएको यस्तो हल्ला चुनावी प्रचार गतिविधि तीब्र बन्दै जाँदा क्रमशः मत्थर हुँदै गएको स्थानीयको भनाई छ । सुरुमा रास्वपाका कार्यकर्ताको तुलनामा कांग्रेस र एमाले कार्यकर्ताको चुनावी उत्साह अत्यन्तै न्यून थियो । तर, कांग्रेस–एमालेले वडा र टोल तहसम्मका संगठनहरु चलायमान बनाउँदै जाँदा रास्वपाको घण्टीको स्वर मधुरो सुनिन थालेको छ ।
चुनावी गतिविधिलाई नियालिरहेका विश्लेषकहरु घण्टीले बढाएको शक्तिका कारण झापा–१ मा यसपाली त्रिपक्षीय चुनावी भिडन्तको सम्भावना बताउँछन । पुराना राजनीतिक दललाई उछिन्न प्रयासरत रास्वपाले बिगतमा कुनै दलमा नलागेका र अन्य पार्टीभित्र भुसभुसे असन्तुष्टि बोकेर बसेका मतदातालाई एकलौटी रुपमा आफुप्रति आकर्षित गरिरहेको देखिन्छ । उसको मत बढ्ने सबैभन्दा ठूलो आधार यही हो ।
बिगत तीन वर्षमा रास्वपाले संगठनमा प्रगति गरेको छ । पुराना दलबाट प्रवेश गरेका केही सामाजिक अगुवाहरुको साथ पाएको छ । मत परिवर्तन गरेर नयाँलाई हेरौं भन्ने राष्ट्रिय राजनीतिमा चलेको लहरको प्रभाव यहाँ पनि देखिएको छ । रास्वपा उम्मेद्वार निशा डाँगी उमेरका हिसाबले सबैभन्दा कम उमेरकी अर्थात जेनजी पुस्ताकी हुनुहुन्छ भने उहाँले महिला उम्मेद्वारको रुपमा सहानुभूति समेत पाउनु सम्भावना छ ।
गत चुनावको भन्दा यसपाली मत दोब्बर बनाउँदा रास्वपाले १७ हजारको हाराहारीमा मत बटुल्न सक्ने अनुमान गर्न सकिन्छ । कांग्रेस र एमालेले आफ्नो बिग्रदै गएको जनमतलाई चुनाव नजिकिदै जाँदा सपार्दै लगेको देखिन्छ । पुरानाले आफ्नो जनमत जोगाउँदै गए भने त्यसले रास्वपाको घण्टीको स्वर क्रमशः झन मधुरो बनाउँदै लैजानेछ ।
रास्वपाले आठ हजार मत बढाउँदा १७ हजार नजिक पुग्छ भने कांग्रेस र एमाले आठ हजार गुमाउँदा पनि १७ हजारभन्दा माथि नै रहन्छन । नेपाली कम्युनिस्ट पार्टीका अशेष घिमिरे, राप्रपाका हेमराज कार्की, श्रम संस्कृति पार्टीका केवलराम राई र मंगोल नेसनल अर्गनाइजेसनका सन्तोष तामाङ झापा–१ का प्रभावशाली उम्मेद्वार हुनुहुन्छ । उहाँहरुले ल्याउने मत उल्लेख्य हुने निश्चित छ ।
एमालेका उम्मेद्वार रामचन्द्र उप्रेती र कांग्रेसका उम्मेद्वार केशवराज पाण्डेले एकअर्कालाई चुनावी प्रतिष्पर्धी बताउँदै आउनु भएको छ । दुबै उम्मेद्वारले आफ्नो पार्टीको परम्परागत जनमत जोगाउन सक्दा परिणाम आफ्नो पक्षमा आउने आशा गरेको देखिएको छ ।
धेरै वस्तीमा बुझ्दा कांग्रेसले कांग्रेसकै समर्थक र एमालेले एमालेकै समर्थकको घरमा भोट माग्नुलाई प्राथमिकतामा राखेको पाइयो । यसको अर्थ आफ्नो भोट ब्यांक जोगाउने कसरत नै हो । रास्वपाले भने कांग्रेस र एमाले समर्थकको घर खोजीखोजी भोट माग्नु र अरु दलका प्रभावशाली व्यक्तिलाई पार्टीमा प्रवेश गराउने प्रयत्नलाई प्राथमिकतामा राखेको पाइएको छ ।
जसरी पनि रास्वपाको घण्टी लहरलाई रोक्ने विषयमा कांग्रेस र एमालेका बीच अघोषित सहमति जस्तै छ । कांग्रेसले आफूलाई भोट नदिए एमालेलाई दिए केही फरक पर्दैन भनेर र एमालेले पनि घण्टीलाई चाहिँ नदिनु बरु कांग्रेसलाई दिए केही फरक पर्दैन भनेर नदेखिदो पाराले घण्टीको लहर छेक्ने प्रयास गरिरहेका छन ।
रास्वपाले आफ्नो पक्षमा आएको चुनावी लहरलाई जोगाउन सकेन र कांग्रेस–एमालेले टोलसम्म चलायमान बनेको संगठनको शक्तिका आधारमा आफ्नो पुरानो जनमत जोगाए भने झापा–१ को अहिलेसम्मको त्रिपक्षीय चुनावी भिडन्त द्विपक्षीय नहोला भन्न सकिन्न ।
रास्वपा पछि पर्ने अवस्था आएमा एमाले र कांग्रेसमध्ये जसले आफ्नो परम्परागत मत बढी मात्रामा जोगाउँछन, उसैले गोल गर्न सक्छ भन्ने विश्लेषणमा रास्वपाप्रति सकारात्मक लचकता राख्नेहरु समेत असहमत देखिदैनन । तर, घण्टी बजाउने भन्ने जुन जबर्जस्त लहर चलेको छ त्यसलाई छेक्न पनि कांग्रेस–एमालेका लागि सजिलो भने पक्कै हुने छैन ।
झापा–१ मा एक लाख ३१ हजार ६७ जना मतदाता छन । जसमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ जना महिला मतदाता रहेका छन । मेचीनगर नगरपालिकाको १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ तथा भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडासहित जम्मा २१ वटा वडा यस क्षेत्रमा पर्छन ।
यस क्षेत्रमा १३ जना दलका र दुई जना स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन । उज्यालो नेपाल पार्टीका तर्फबाट नरेशकुमार लावती, नेपाल मजदुर किसान पार्टीका तर्फबाट हिरण्यप्रसाद भट्टराई, नेपाल जनमुक्ति पार्टीका तर्फबाट खान्द्रु करुवा, जनता समाजवादी पार्टीका तर्फबाट रमा मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट मानबहादुर साँवा लिम्बु र नेपाल सद्भावना पार्टीका तर्फबाट ओलिन राजबंशीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा १ मा दुई जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । मेचीनगर–८ निवासी गणेशप्रसाद खरेलले र अर्का बुद्वशान्ति गाउँपालिका–५ का दुर्गाप्रसाद सावाँ लिम्बुको स्वतन्त्र उम्मेदवारी रहेको छ । नेपाल जनमुक्ति पार्टीका उम्मेदवार खान्द्रु करुवाले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अशेष घिमिरेलाई समर्थन गर्नु भएको छ । तर पनि मतपत्रमा खान्द्रुको पार्टीकै चुनाव चिन्ह रहनेछ ।