धुलाबारी, फागुन ९ । झापा १ का सबै उम्मेद्वारलाई सहभागि गराएर मेचीनगरमा रहेका जेसीजका शाखाहरुले ककस कार्यक्रम गर्ने भएका छन । नेपाल जेसीजको केन्द्रीय कार्यक्रम अन्तर्गत धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको संयुक्त आयोजनामा फागुन १२ गते धुलाबारीमा उम्मेद्वारसंग प्रत्यक्ष प्रश्न सोध्न पाइने गरी कार्यक्रमको आयोजना गरिएको धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
झापा १ का मतदाताले उम्मेद्वारहरुलाई प्रत्यक्ष संवाद (ककस) मार्फत प्रश्न सोध्ने र उम्मेद्वारले उत्तर दिने गरी कार्यक्रम तयारी गरिएको नेपाल जेसीजका उपाध्यक्ष देबु बानियाँले पत्रकार सम्मेलनमा बताउनु भयो । ‘हामीले सबै उम्मेद्वारलाई निम्तो गरिसकेका छौं,’ बानियाँले भन्नुभयो, ‘वहाँहरुले कार्यक्रममा आउने बचन दिनु भएको छ ।’
धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा हुने ककस (प्रत्यक्ष संवाद) कार्यक्रमको सञ्चालन धुलाबारी जेसीजका पुर्व अध्यक्ष केशव पोखरेलले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रम दिउँसो १२ बजे सुरु गर्ने जनाईएको छ ।
पत्रकार सम्मेलनमा बाहुनडाँगी जेसीजका अध्यक्ष निकेश दाहाल, चारआली जेसीजका अध्यक्ष सञ्जय निरौला, धुलाबारी जेसीजका पुर्व अध्यक्ष केशव पोखरेल र सागर खनाल सहित जेसीजका सदस्यहरुको उपस्थीति रहेको थियो ।
पत्रकार सम्मेलनमा मेचीनगर लेडी जेसीजका महासचिव कल्पना प्रसाईले सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । झापा १ मा दुई स्वतन्त्र सहित १५ जना उम्मेद्वार चुनावी मैदानमा होमिएका छन ।