मेचीनगर, माघ १९ । झापाको धुलाबारीस्थीत नन्दा कोरिडोरमा माघको १५, १६ र १७ गते रैथाने स्वाद महोत्सव सम्पन्न भएको छ । यो स्वाद महोत्सवमा राई, किसान, मेचे र नेवार जातिको खाना प्रर्दशनी तथा विक्रि गरिएको थियो ।
स्थानीयस्तरका चारवटा जातिको खानाको स्वाद चखाउने महोत्सवको मुख्य उद्देश्य रहेको थियो । त्यसबाहेक पनि महोत्सवमा स्थानीय महिलाहरुले कोदोको सेलरोटी, गुन्द्रुकको अचार, फापरको पकौडा लगायतका खानेकुरा आगन्तुकलाई मिठो गरी खुवाएका थिए ।

सतही रुपमा हेर्दा यो स्वाद महोत्सव सामान्य लाग्नु स्वाभाविक नै हो । तर यसको महत्व गहिरो र व्यापक छ । यो स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन र संस्कृतिको जगेर्नामा गरिएको निक्कै गतिलो काम हो । तीन दिनमा करीब बीस हजार मानिसले प्रत्यक्ष अवलोकन गरेको स्वाद महोत्सवले पुर्वी नेपालका जातिहरुको परिकार संरक्षण मात्रै गर्दैन, यसले त ति परिकारहरुको बजारीकरणमा समेत ढोका खुल्ला गरिदिएको छ ।
महोत्सवस्थलमा राई, नेवार, किसान र मेचे समुदायका परम्परागत खानालाई प्रतिनिधित्व गर्ने छुट्टाछुट्टै स्टलहरू राखिएको थियो । सांस्कृतिक कार्यक्रम तथा साङ्गीतिक साँझमा स्थानीय जातिकै भेषभुषा र गितसंगितमा नृत्य प्रस्तुत भएका थिए । खानाकै बिषयमा स्थानीय जानकारहरुसंग प्यालन डिस्कसन गरिएको थियो । बाघचाल प्रतियोगिता, खुर्सानी खाने प्रतियोगिता जस्ता हाम्रा परम्परागत खेललाई समेत समावेश गरिएको स्वाद महोत्सव सुदुरपुर्वी नेपाली समाजको एउटा अर्गानिक कार्यक्रम थियो भन्न उपयुक्त हुन्छ ।

त्यसो त महोत्सवले खुला चित्रकाला प्रतियोगिता, पाक कला प्रतियोगिता सञ्चालन गरेर नयाँ पुस्तालाई क्षमता विकासमा समेत सहयोगि भुमिका खेलेको थियो भने चरा खोजकर्ता देवेन्द्र खरेलले राख्नु भएको चराको फोटो प्रदर्शनीले महोत्सवमा फरक आकर्षण थपेको थियो ।
रोटरी क्लव अफ मेचीनगरले स्थानीय श्री सिटि डेन्टल केयरको प्राविधिक सहयोगमा निशुल्क दन्त परीक्षण क्याम्प समेत राखेको थियो । महोत्सवमा करीब दुइ सय जनाले निशुल्क दन्त परीक्षण गराएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताउनु भयो ।
स्वाद महोत्सवमा अतिथि अस्पिटालिटि फुड ट्रेनिङ स्कुलका विद्यार्थीहरुले प्रत्यक्ष रुपमा पाक कला प्रतियोगिता प्रस्तुत गरेर स्वाद महोत्सवलाई परिकार केन्द्रीत बनाउन सहयोग पुर्याएका थिए ।

रैथाने जातिहरुको रैथाने परिकारलाई पनि यसरी महोत्सवमार्फत विश्वसामू पुर्याउन सकिन्छ भन्ने बिषयलाई यो रैथाने स्वाद महोत्सव मार्फत मेचीनगरका युवाहरुले प्रमाणित गरिदिएका छन । उर्जाशिल युवा धर्मेन्द्र खड्काको नेतृत्वमा रहेको नन्दा कोरिडोर संरक्षण समितिले गत बर्ष पनि यही प्रकारको रैथाने स्वाद महोत्सवको आयोजना गरेर मेचे, धिमाल, राजबंशी र दनुवार जातिको परिकारलाई बजारीकरण गर्न सहयोग पुर्याएको रैथाने स्वाद महोत्सव आयोजक समितिका अध्यक्ष खड्काले बताउनु भयो ।