मेचीनगर, माघ १८ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा जम्मा एक लाख ३१ हजार ६७ जना मतदाता रहेका छन । बुद्धशान्ति गाउँपालिकाको ४ वटा वडा, भद्रपुर नगरपालिकाको दुई वटा वडा र मेचीनगर नगरपालिकाको सबै १५वटा वडा गरी झापा १ मा २१ वटा वडामा समेटिएको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता संख्या अनुसार झापा १ को सबैभन्दा बढी मतदाता मेचीनगर ६ मा रहेका छन । मेचीनगर ६ मा १२८१० जना मतदाता रहेका छन । त्यस्तै मेचीनगर १० मा १०७७५ मतदाता रहेका छन ।
वडागत मतदाता संख्या अनुसार बुद्धशान्ति ४ मा ९४७१ जना मतदाता छन भने बुद्धशान्ति ५ मा ३१८६ जना, बुद्धशान्ति ६ मा २५६९ जना र बुद्धशान्ति ७ मा १७२९ जना मतदाता रहेका छन । त्यसैगरी भद्रपुर वडा नं. ९ मा ६२९० जना र भद्रपुर १० मा ६७८२ जना मतदाता रहेका छन ।
मेचीनगर वडा नं. १ मा ५२८६ जना, वडा नं. २ मा ५८५९ जना मतदाता हुँदा मेचीनगर ३ मा ६२०२ जना छन । मेचीनगर ४ मा ४७९२ जना मतदाता छन भने मेचीनगर ५ मा ४३३७ जना मतदाता छन ।
त्यस्तै मेचीनगर ७ मा ९५९२ जना मतदाता रहेकोमा मेचीनगर ८ मा ६७२९ जना र मेचीनगर ९ मा ९२९२ मतदाता छन । मेचीनगर ११ मा ४६१३ जना मतदाता हुँदा मेचीनगर १२ मा ५११३ जना छन । मेचीनगर १३ मा ४७६० जना, मेचीनगर १४ मा ४८८७ जना र मेचीनगर १५ मा ५९९३ जना मतदाता रहेका छन ।
फागुन २१ को चुनावका लागि झापा १ मा ४५ वटा मतदान स्थलमा १४५ वटा मतदान केन्द्र तोकिएको छ । यो पटकको निर्वाचनमा एउटै मतदानस्थलमा सबैभन्दा बढी मतदान केन्द्र र मतदाता भएको बुद्धशान्ति वडा नं. ४ हो । उक्त वडाका सबै ९४७१ जना मतदाताका लागि गणेश माविको मतदानस्थलमा ९ वटा मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
त्यस्तै यो पटकको निर्वाचनका लागि मेचीनगर १० को एउटा मतदानस्थल परिवर्तन गरिएको छ । यस अघि धुलाबारी मोडस्थीत स्वास्थ्य केन्द्रमा भएको मतदानस्थल यस पटक १० नम्बर वडा कार्यालयमा सारिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।