मेचीनगर, माघ १६ । झापाको धुलाबारीस्थीत नन्दा कोरिडोरमा रैथाने स्वाद महोत्सव सुरु बिहिबार सुरु भएको छ । महोत्सवमा स्थानीय जातिहरु मेचे, किसान, राई र नेवार समुदायको खानाको स्वाद चाख्न पाइने छ । यी चार जातिहरुले परम्परागत रुपमा खाने गरेका विभिन्न परिकारहरुलाई यो पटकको रैथाने स्वाद महोत्सवमा राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष धर्मेन्द्र खड्काले बताउनु भयो ।
बिहिबार एक कार्यक्रमकाबीच मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले धनुकाँड हानेर उदघाटन गर्नु भएको रैथाने स्वाद महोत्सवमा चार जातिका परिकारबाहेक पनि स्थानीय संस्था शान्ति समाजका महिलाहरुले सेलरोटी, पकौडा र गुन्द्रुकको अचार समेत राख्नु भएको छ ।

कोदोको सेलरोटी र फापरको पकौडालाई समेत शान्ति समाजले परिकारमा समावेश गरेको छ । नयाँ पुस्तालाई विभिन्न खाना बनाउने परिकार सिकाउँदै आएको अतिथि हस्पिटालिटिले समेत विभिन्न खानाका परिकार महोत्सवमा राखेको हस्पिटालिटिका सञ्चालक निरज श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा रोटरी क्लव अफ मेचीनगरका तर्फबाट निशुल्क दाँत परीक्षणको समेत क्याम्प खडा गरिएको छ । स्थानीय श्री सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा निशुल्क दाँत परीक्षणको व्यवस्था गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताउनु भयो ।

महोत्सव उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले स्थानीय जातजातिको परिकारको संरक्षण गर्नुले नयाँ पुस्तामा ति जातजातिको संस्कृति हस्तान्तरण हुने बताउनु भयो । महोत्सव आयोजक समितिका अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न उदघाटन सत्रमा पर्यटन कार्यालय काकरभिटटका प्रमुख छविलाल खतिवडाले पर्यटन प्रवर्धनका लागि यस्ता महोत्सवले महत्वपुर्ण सहयोग पुर्याउने बताउनु भयो ।
आयोजक समितिका सदस्य मिना इजम लिम्बुले स्वागत मन्तव्य गरेको कार्यक्रम समितिका सहसचिव देबेन्द्र दाहालको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सव माघ १७ गतेसम्म सञ्चालन हुनेछ ।