मेचीनगर, माघ ८ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनितिक दल तथा स्वतन्त्र उम्मेद्वारहरु चुनावी प्रचार अभियान सुरु गर्दैछन । माघ ६ गते उम्मेद्वारी दर्ता गराए पछि दलहरुले प्रचार अभियानलाई अगाडी बढाउने तयारी सुरु गरेका हुन ।
यसैबीच झापा क्षेत्र नं. १ मा राजनितिक दलहरुले चुनावी अभियान सुरु गर्ने तयारी थालेका छन । उम्मेद्वारी दर्ता गराएका दलहरुले चुनाव प्रचारका लागि सांगठन परिचालनको काम थालनी गरेका हुन ।
चुनाव लक्षीत गरेर नेपाली काँग्रेसले १००१ सदस्यी निर्वाचन परिचालन समिति गठन गरेको छ । क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीको संयोजकत्वमा गठन गरिएको समितिमा क्षेत्रीय समितिका सबै, प्रदेश क्षेत्रीय समितिका सबै, नगरसमिति, गाउँ समिति र सबै वडा समिति लगायत महाधिवेशन, महासमिति सदस्यहरु सहित नेताहरु रहने संयोजक बुढाथोकीले बताउनु भयो । काँग्रेसले केशवराज पाण्डेलाई उम्मेद्वारका रुपमा चुनावी मैदानमा उतारेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचन लक्षीत क्षेत्रीय सचिवालय समिति गठन गरेको छ । क्षेत्रीय संयोजक असिम दाहालको संयोजकत्वमा गठन गरेको सात सदस्यीय सचिवालय समितिमा ओम भण्डारी, प्रेमराज घिमिरे, कमल गौतम, सन्तोस राजबंशी, दिपक भट्टराई र दिवाकर मैनाली रहनु भएको संयोजक दाहालले जानकारी दिनुभयो । रास्वपाले निशा डाँगीलाई उम्मेद्वार बनाएको छ ।
नेकपा एमालेले अहिलेसम्म निर्वाचन परिचालन समिति गठन गरिनसकेको एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले बताउनु भयो । अहिले क्षेत्रीय समितिले नै काम गरिरहेको र एक दुई दिन भित्रमा निर्वाचन परिचालन समिति गठन गरेर चुनावी प्रचार अभियानलाई तिब्रता दिने कार्कीले जानकारी दिनुभयो । एमालेले झापा १ मा रामचन्द्र उप्रेतीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कल्याण खड्काको संयोजकत्वमा निर्वाचन निर्देशक समिति गठन गरेको छ । यस समिति मातहतमा अन्य थुप्रै परिचालन समिति गठन गरि प्रचार अभियानलाई तिब्रता दिने राप्रपा मेचीनगरका अध्यक्ष चन्द्र निरौलाले जानकारी दिनुभयो । राप्रपाका तर्फबाट हेमराज कार्की उम्मेद्वार हुनुहुन्छ ।
पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमिएको नयाँ दल श्रम संस्कृति पार्टीले पदम सुनुवारलाइृ निर्वाचन परिचालन समितिको संयोजक बनाएको छ । सुनुवारको संयोजकत्वमा ५५ सदस्यीय निर्वाचन परिचालन समिति बनाएर श्रम संस्कृति पार्टीले चुनावी प्रचारको सुरुवात गरेको उम्मेद्वार केवलराम राईले बताउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टीले बोधराज दाहालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बिपि भट्टराई सहसंयोजक रहेको कमिटिमा वडा तहदेखि केन्द्रीय सदस्यसम्मका नेताहरु समेटिएको सहसंयोजक भट्टराईले जानकारी दिनुभयो । नेकपाले झापा १ मा अशेष घिमिरेलाई उम्मेद्वार बनाएको छ ।