झापा, माघ ६ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको आज उम्मेद्वारी दर्ता हुँदैछ । आज विहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेद्वारको मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ । १६५ प्रतिनिधि सभा क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ताको काम हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उम्मेद्वारी दर्ताको दिनसम्म पनि राजनितिक दलहरुले आफ्ना उम्मेद्वार चयनको प्रकृया जारी राखेका छन । आज विहान सबै दलले उम्मेद्वारको टुङ्गो लगाएर दर्ताका लागि पठाउने तयारी गरेका छन ।
झापामा उम्मेद्वारी दर्ताको सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापाका सबै पाँच वटै क्षेत्रमा उम्मेद्वारी दर्ताका लागि राजनितिक दलहरुलाई फरक फरक समय निर्धारण गरिएको छ ।
जिल्लाभर एउटा दललाई सबै क्षेत्रमा एउटै समयमा उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरिएको भए पनि दलहरुसंगको सहमतिमा क्षेत्र अनुसार फरक फरक समय पनि हुन सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत डिल्लीराम प्रसाईले बताउनु भयो ।
निर्वाचन अधिकृतको कार्यालयहरुले दिएको सयम अनुसार आज बिहान १० बजे श्रम संस्कृति पार्टीलाई उम्मेद्वारी मनोनयनको समय दिइएको छ भने १०ः३० बजे मंगोल नेशनल अर्गनाइजेशनले उम्मेद्वारी मनोनयन गर्ने समय पाएको छ ।
त्यस्तै बिहान ११ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेद्वारी मनोनयन गर्नेछ भने नेपाल मजदुर किसान पार्टीले ११ः३० बजेको समय मनोनयनका लागि पाएको छ । दिउँसो १२ः३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारले मनोनयन दर्ता गर्नेछन भने दिउँसो १ बजे नेकपा एमालेका उम्मेद्वारले मनोनयन दर्ताका लागि समय पाएका छन ।
दिउँसो १ः३० बजे नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वारले मनोनयन दर्ता गर्नेछन भने दिउँसो २ बजे नेपाली काँग्रेसका उम्मेद्वारले मनोनयन दर्ता गराउने छन । दिउँसो २ बजे नै नेपाल सद्भावना पार्टीका उम्मेद्वारले पनि मनोनयन दर्ताको समय पाएका छन । अपरान्ह ३ः१५ बजे जनता समाजवादी पार्टी (जसपा) का उम्म्द्वारले मनोनयन दर्ता गराउने समय पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता गर्न एउटा उम्मेद्वारलाई करीब आधा घण्टाको समय लाग्ने अनुमान गरिएकाले भिडभाड नहोस र सहज रुपमा मनोनयनको काम सम्पन्न गर्न सबै दललाई समय निर्धारण गरिएको झापा १ का सहायक निर्वाचन अधिकृत टेक बहादुर श्रेष्ठले बताउनु भयो । स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गर्न चाहनेले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा दर्ता गर्न सक्ने श्रेष्ठले बताउनु भयो ।
उम्मेद्वारी दर्ता गर्न जाँदा दलहरुले बढीमा २५ जनाको संख्यामा मात्रै जान मिल्ने निर्वाचन आचारसंहिताले निर्धारण गरेको हुनाले निर्वाचन अधिकृतको कार्यालय भएको मुख्य गेटसम्म २५ जना आउन पाउने र गेट भित्र बढीमा १० जनालाई मात्रै प्रवेश गर्न दिने व्यवस्था मिलाईएको झापा १ का निर्वाचन अधिकृत गोपी विश्वकर्माले बताउनु भयो । एकै पटक धेरै मानिस प्रवेश गर्दा भिडभाड हुने भएकाले उम्मेद्वार मनोनयनको काममा असहज हुने सम्भावनाका कारण एउटा उम्मेद्वारसंग बढीमा १० जना मात्रै प्रवेश गर्न दिने निर्णय भएको विश्वकर्माले बताउनु भयो ।