झापा, माघ ३ । झापाको वीरता लेडी जेसीजका नवनिर्वाचित अध्यक्षबिरुद्ध उजुरी परेको छ । वीरता लेडी जेसीजका बर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष मुना ढुङ्गेलको विधान अनुसार अध्यक्ष हुने योग्यता नपुगेको भन्दै संस्थाकै सदस्य झुमा भट्टराई चुडालले नेपाल जेसीजमा छानविनका लागि उजुरी दिनु भएको छ । अधिवेशनको प्रकृया र अध्यक्षको योग्यताका बारेमा छानविन गर्न २०८२ पुष ३० गते चुडालले नेपाल जेसीजमा लिखित उजुरी दिनु भएको हो ।
शाखाको अध्यक्ष हुनका लागि नेपाल जेसीजको विधानमा उल्लेख भएको न्यूनतम योग्यताका रुपमा रहेको कम्तिमा तीन वटा राष्ट्रिय महाधिवेशन, चारवटा क्षेत्रीय सम्मेलनमा सहभागिता भएको हुनु पर्ने र टट, एम टट र जेसीआइ एकाडेमी तालिम मध्ये एउटा अनिवार्य लिएको हुनु पर्ने व्यवस्था रहेको तर वीरता लेडीमा निर्वाचित अध्यक्ष ढुङ्गेलले उक्त योग्यता पुरा नगरेको कारण अध्यक्ष हुन अयोग्य भएकाले विधान अनुसार छानविनका लागि नेपाल जेसीजमा उजुरी दिएको चुडालले बताउनु भयो ।
यता नेपाल जेसीजका उपाध्यक्ष समेत रहनु भएकी वीरता लेडी जेसीजका पुर्व अध्यक्ष तथा शाखाको अधिवेशनमा निर्वाचन संयोजक रहुन भएकी मेनुका ओलीले शाखाको विधान अनुसार ढुङ्गेलको अध्यक्ष हुने योग्यता पुगेकाले कुनै विवाद बिना निर्वाचन प्रकृया सम्पन्न गरेको बताउनु भयो । ‘शाखाको विधान अनुसार कुनै समस्या छैन,’ ओलीले भन्नुभयो, ‘निर्वाचन प्रकृयाका बेला समेत योग्यताको बिषयमा कुनै कुरा उठेको थिएन ।’ यो बर्ष ढुङ्गेल बाहेक अध्यक्ष हुने अर्को व्यक्ति शाखामा नभएकाले ढुङ्गेललाई सर्बसम्मत अध्यक्ष चयन गरिएको वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष निषा शाक्यले बताउनु भयो ।
अध्यक्षको योग्यता सम्बन्धी विवाद उत्पन्न भई उजुरी परे पछि वीरता लेडी जेसीजले माघ १ गते सामान्य कार्यक्रम गरेर पद हस्तान्तरण समेत गरिसकेको छ । यस अघिका बर्षहरुमा वीरता लेडी जेसीजको पद हस्तान्तरण कार्यक्रममा ठुलो उपस्थीतिसहित भव्य रुपमा सम्पन्न हुने गरेको भए पनि यो बर्ष विवाद सतहमा आए पछि जेसीज सचिवालयमा नै सामान्य कार्यक्रम गरेर पद हस्तान्तरण गरिएको हो ।
यसैबीच वीरता लेडी जेसीजको शाखा अधिवेशन प्रकृया र नवनिर्वाचित अध्यक्ष ढुङ्गेलको योग्यताको बिषयमा नेपाल जेसीजमा उजुरी दर्ता भएको नेपाल जेसीजका एक पदाधिकारीले पुष्टी गर्नु भएको छ । वहाँले भन्नुभयो, ‘उजुरी प्राप्त भएको छ, अब नेपाल जेसीजले निरुपित उपाध्यक्षमार्फत छानविनको प्रकृया सुरु गर्छ ।’
१८ देखि ४० बर्षसम्मका युवाहरुले मात्रै सदस्यता लिन पाउने अन्तराष्ट्रिय संस्थाका रुपमा रहेको जेसीजमा एक व्यक्ति, एक पद, एक बर्ष र एक कार्यकाल हुने वैधानिक व्यवस्था रहेको छ ।