मेचीनगर, माघ २ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने अब चार दिन मात्रै बाँकी छ । अर अहिलेसम्म कुनै पनि राजनितिक दलले उम्मेद्वारी टुङ्गो लगाइसकेका छैनन । नयाँ दल र जनउभारको संकेत बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट पनि अहिलेसम्म उम्मेद्वारको टुङ्गो लगाइनसकेको अवस्था छ ।
झापा १ मा यस अघिको निर्वाचन जित्नु भएका नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले नउठ्ने घोषणा गरेसंगै यहाँ कुन दलबाट को को उम्मेद्वार हुन्छन भन्ने चर्चा सुरु भएको छ । त्यसमा पनि विशेष गरेर नयाँ दलका रुपमा उदाएको रास्वपाको उम्मेद्वार को हुने भन्ने चर्चाले बढी महत्व पाएको देखिन्छ ।
युवा पुस्ताको बलियो पकड भएको रास्वपामा पार्टीको आन्तरिक प्रतिस्पर्धा र सिफारिसका आधारमा हेर्ने हो भने प्रेमसागर घिमिरे र असिम दाहालको नाम चर्चामा छ । मेचीनगर १२ निवासी घिमिरे रास्वपाका प्रदेश कमिटि सदस्य तथा प्रदेश शिक्षा विभाग प्रमुख हुनुहुन्छ भने दाहाल क्षेत्रीय संयोजक हुनुहुन्छ ।
नेपाली विषयमा एम ए र एम एडको अध्ययन गर्नु भएका घिमिरेले विरेन्द्र बहुमुखी क्याम्पस चन्द्रगढीका उपप्राध्यापक हुनुहुन्छ । वहाँ चारआली खानेपानी उपभोक्ता संस्थाका सचिव लगायत अन्य संघ संस्थामा समेत आबद्ध सामाजिक व्यक्तित्व हुनुहुन्छ । घिमिरेले भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट ज्योतिष तथा वास्तुविज्ञानमा आचार्य समेत गर्नु भएको छ । विभिन्न विषयमा अनुसन्धान समेत गरिसक्नु भएका घिमिरे रास्वपाका तर्फबाट झापा क्षेत्र नं. १ का लागि पहिलो दाबेदारका रुपमा रहनु भएको छ ।
त्यसैगरी अर्का उम्मेद्वारका दाबेदारमा रास्वपा क्षेत्रीय संयोजक असिम दाहाल हुनुहुन्छ । मेचीनगर ८ निवासी दाहाल व्यवशायी हुनुहुन्छ । राजनितिसंगै सामाजिक सेवाको काममा समेत सकृय दाहाल पछिल्लो समय रास्वपाको संगठन बिस्तारमा रणनैतिक ढंगले लाग्नु भएको रास्वपा स्रोत बताउँछ ।
त्यस बाहेक पनि पार्टी केन्द्रले झापा १ लागि केन्द्रीय स्तरकै नेता पनि उम्मेद्वारका रुपमा पठाउने बुझिएको छ । रास्वपा उच्च स्रोतले दिएको जानकारी अनुसार झापा १ मा रास्वपा नेत्री तोसिमा कार्कीको पनि सम्भवाना बढेको छ ।
त्यसो त झापा १ कै स्थानीय नेतृत्वहरु भिम कुवँर, कमल गौतम लगायतको नाम पनि उम्मेद्वारका रुपमा चर्चामा रहेको छ । चुनावी रणनिति अनुसार पार्टी केन्द्रले यही क्षेत्रबाट वा अन्यत्रबाट पनि नयाँ अनुहारलाई उम्मेद्वार बनाउन सक्ने गरी छलफल गरिरहेको रास्वपा स्रोत बताउँछ ।