इटाभट्टा, पुष ३० । झापाको मेचीनगर नगरपालिकाका एक वडा अध्यक्ष बिरुद्ध कारबाही प्रकृया अगाडी बढाइएको छ । वडा नं. ४ का वडा अध्यक्ष अर्जुन कार्कीबिरुद्ध नगरकार्यपालिकाले कारबाही प्रक्रिया अगाडी बढाएको हो । वडा अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा नगरका एक कर्मचारीलाई गाली गलौजको शैलीमा पोष्ट गरेको भन्दै मंसिर १७ गते बसेको नगरकार्यपालिका बैठकले कारबाहीको प्रकृया अगाडी बढाउने निर्णय गरेको छ ।
वडा अध्यक्ष कार्कीको पोष्ट मेचीनगर नगरपालिका जनप्रतिनिधि तथा कर्मचारी आचारसंहिता २०८१ र अन्य कानून समेत आकृष्ट भएकाले कारबाही प्रकृया अगाडी बढाउने कार्यपालिकाले निर्णय गरेको छ ।
ढिलो गरी सार्वजनिक गरिएको कार्यपालिकाको निर्णयमा भनिएको छ, ‘वडा अध्यक्ष अर्जुन कार्कीले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुकमा मेचीनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा कार्यरत एक कर्मचारीको नाम तोकेर गालीगलौजको शैलीमा एउटा पोष्ट सार्वजनिक भएको हुँदा मेचीनगर नगरपालिका जनप्रतिनिधि तथा कर्मचारी आचारसंहिता २०८१ दफा ९ तथा अन्य प्रचलित कानून बमोजिम उक्त अभिव्यक्ति आकृष्ट रहेको हुँदा त्यस बिषयमा वडा अध्यक्षलाई लिखित रुपमा आफ्नो धारणा सोध्ने र आवश्यक परेमा मेचीनगर नगरपालिका जनप्रतिनिधि तथा कर्मचारी आचारसंहिता २०८१ दफा ३१ बमोजिम जाँचबुझ प्रकृया अगाडी बढाउन आचारसहिंता अनुगमन समितिमा पेश गर्ने निर्णय गरियो ।’
वडा अध्यक्ष कार्कीले मंसिर ९ गते मेचीनगर नगरपालिकाका प्रशासकिय अधिकृत अनन्त प्रकाश वस्तीको २०५४ सालदेखिको सम्पत्ती छानविन र अन्य गतिविधि सार्वजनिक गर्न माग गर्दै मेचीनगर नगरपालिका, अध्यक्ष कार्की सम्बद्ध पार्टी नेकपा एमाले र सरकारलाई आग्रह गर्दै फेसबुकमा पोष्ट सार्वजनिक गर्नु भएको थियो ।
यस बिषयमा वडा अध्यक्ष कार्कीसंग कुरा गर्दा आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । ‘बैठकको उपस्थितिको हस्ताक्षरलाई दुरुपयोग गरेर निर्णयमा के के लेख्छन मलाई जानकारी छैन,’ वडा अध्यक्ष कार्कीले भन्नुभयो, ‘नगरपालिकाले अहिलेसम्म मलाई केही भनेको छैन ।’
यसैबीच मेचीनगरले मंसिर १७ गतेकै बैठकबाट आचारसहिंता अनुगमन समिति समेत गठन गरेको छ । वडा अध्यक्ष कार्कीबिरुद्ध कारबाही लक्षीत गठन गरिएको समितिको संयोजकमा वडा नं. ९ का वडा अध्यक्ष कञ्चन तामाङ संयोजक र वडा नं. ८ का वडा अध्यक्ष गिरीराज धमला, कार्यपालिका सदस्यहरु तिलजा देवान, माया प्याकुरेल, नगरसभा सदस्य कुन्दन निरौला, बेनुकुमार राई र जानुका थापा सदस्य रहनु भएको छ ।
