धुलाबारी, मंसिर २८ । झापाको मेचीनगर ९ स्थीत मागुरमाडी सामुदायिक वन समूह बिट नं. १ को अध्यक्षमा युवराज रेग्मी विजयी हुनु भएको छ । सामुदायिक वनको नयाँ कार्यासमिति चयनका लागि शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार २७७ मत प्राप्त गरी रेग्मी विजयी हुनु भएको हो । नेपाली काँग्रेसले टिकट नदिए पछि स्वतन्त्र रुपमा उम्मेद्वार हुनु भएका रेग्मीले काँग्रेसकै उम्मेद्वारलाई हराएर अध्यक्षमा विजयी हुनु भएको छ ।
अध्यक्षमा रेग्मीका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार पुण्य आचार्यले २५५ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै अध्यक्षमा रास्वपाका उम्मेद्वार लोकनाथ काफ्लेले १६९ र एमालेका उम्मेद्वार दिलिप शंकरले १५४ मत प्राप्त गर्नु भएको थियो ।
सामुदायिक वनको अध्यक्षको उम्मेद्वार बन्ने चाहान राख्नु भएका रेग्मीलाई काँग्रेसले टिकट दिन मानेन । पटक पटकको बैठकमा समेत रेग्मीलाई टिकट दिने निर्णय नभए पछि वहाँले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेद्वार हुने घोषणा गरेर काँग्रेसको बैठकबाट बाहिरीनु भएको थियो । ‘आठ पटकको बैठकमा समेत मलाई टिकट दिने निर्णय भएन,’ नवनिर्वाचित अध्यक्ष रेग्मीले सेतोपत्रसंग भन्नुभयो, ‘त्यसपछि मैले स्वतन्त्र रुपमा अध्यक्षको उम्मेद्वारी दिन्छु पार्टीले जे सुकै गरोस भनेर बैठकबाट बाहिरीएको थिएँ, उपभोक्ताले मलाई माया गर्नु भयो ।’
मतदानमा सहभागि हुँदै मागुरमाडी सा.वका उपभोक्ताहरु ।
सामुदायिक वनको उपाध्यक्षमा नेकपा एमालेका भोलाकाजी दाहालले ४०० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । वहाँका प्रतिस्पर्धी काँग्रेसका चन्द्र किसानले ३८० र रास्वपाका उपाध्यक्षका उम्मेद्वार टेक बहादुर लामिछानेले ५७ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी सचिवमा एमालेका उम्मेद्वार देविका चापागाई ४२९ मत ल्याएर विजयी हुँदा सचिवमा काँग्रेसका निशा लिम्बुले ३६५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कोषाध्यक्षमा एमालेका शान्ता डाँगीले ४१८ मत प्राप्त गरी विजयी हुनु भएको छ भने वहाँका प्रतिस्पर्धी काँग्रेसका कोषाध्यक्ष पदका उम्मेद्वार मनिता उप्रेतीले २८३ र रास्वपाका कोषाध्यक्ष पदका उम्मेद्वार शोभा बिष्टले ९६ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै सहसचिवमा काँग्रेसका दुर्गादेवी बानियाँ ३६७ मत ल्याएर विजयी हुँदा वहाँका प्रतिस्पर्धी एमालेका उम्मेद्वार बिमला पाठकले २७८ र रास्वपाका तुलसा खातीले १२४ मत प्राप्त गर्नु भएको थियो ।
वन समूहका सदस्यहरुमा पूर्णबहादुर राउत, दिलकुमारी तामाङ, संगिता दनुवार, अभिमाया सदिम्बा राई, कृष्णकुमार बस्नेत, कृष्णमाया खड्का, सोमराज बस्नेत, रिता लिखिम्बा लिम्बु, माया निरौला र रामबहादुुर महत निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक युवराज कटुवालले जानकारी दिनुभयो । वन समूहका १४६० मतदाता मध्ये १००२ जनाले मतदान गरेको संयोजक कटुवालले बताउनु भयो ।