मेचीनगर, मंसिर २७ । २०८२ साउनको दोस्रो साता काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख दिपक पोखरेलले कर्मचारीहरुको सेवा सुविधा बढाउने गरी एउटा टिप्पणी तयार गरी सदर गर्नका लागि संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको कार्यकक्षमा पुग्नु भयो । कार्यकक्षमा रहनु भएका अध्यक्ष बुढाथोकीले उक्त टिप्पणी सरसर्ती पढ्नु भयो । पढिसके पछि कार्यालय प्रमुख पोखरेललाई भन्नुभयो, ‘यो बिषयमा कार्यसमितिमा कुनै छलफल र निर्णय भएको छैन, यो सरकारले बजेट दिने संस्था होइन, उपभोक्ताले तिरेको पैसाबाट चल्ने संस्था भएकाले अहिले कर्मचारीको सेवा सुविधा बढाउन सकिदैंन ।’ अध्यक्षले यति भने पछि केही बेर कार्यालय प्रमुख पोखरेलले टिप्पणी सदर गराउन त्यस अघिका अध्यक्षबाट भए गरेका केही अभ्यासहरुका बारेमा कुरा राख्नु भयो तर अध्यक्ष बुढाथोकीले सिधै इन्कार गर्दै भन्नुभयो, ‘अहिलेको अवस्थामा कर्मचारीको मात्रै सुविधा बढाउन सकिदैंन, उपभोक्ताहरुलाई के कस्ता सुविधा दिन सकिन्छ त्यस बिषयमा काम गर्नु पर्नेछ ।’
यही प्रकरण पछि काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बुढाथोकी र कार्यालय प्रमुख पोखरेलबीच दुरी बढ्यो । त्यस पछि कार्यालय भित्र कर्मचारी र कार्यसमिति, खास गरी अध्यक्षबीच सामान्य रुपमा द्वन्द सुरु भयो । कर्मचारीको बैठक भेला बसे, सरकारले बढाएको महंगी भत्ता वितरणका लागि अध्यक्षलाई विभिन्न खाले दबाब दिने काम भइरहे । अन्तत कर्मचारीको भत्ता बढेन ।
बाहिरबाट हेर्दा काकरभिट्टा खानेपानी उपभोक्ता संस्था सामान्य ढंगले चलेको देखिए पनि भित्रको अवस्था भने सामान्य थिएन । कर्मचारीहरुको काम गर्ने समयदेखि फिल्डमा खटिने कर्मचारीहरुको कामका बारेमा समेत अध्यक्षले थप चासो राखेर निगरानी बढाउन थाल्नु भयो । यसबीचमा एक जना प्राविधिक कर्मचारी आफुखुसी कार्यालयको काम छोडेर बाहिर हिडिरहेको अध्यक्षले पत्तो पाउनु भयो । अध्यक्षले ती कर्मचारीलाई संस्थाको नियममा बसेर काम गर्न मौखिक सचेत गराउँदै विना जानकारी बाहिर नहिड्न सुझाउनु भयो ।
कार्यालयको दैनिकीमा अध्यक्षले कर्मचारीको सुविधा बढाउन नमानेको चर्चाले ठाउँ पाउन थाल्यो । अधिकशं कर्मचारी अध्यक्षको बिरुद्धमा उभिएको अवस्था बन्यो । यतिसम्मकी आफुहरु लागेर जिताएको अध्यक्षले नै कर्मचारीको हितमा काम नगरेको समेत कर्मचारीबृत्तमा चर्चा सुरु हुन थाल्यो । एक प्रकारले भन्ने हो भने कर्मचारीहरुलाई अध्यक्ष बिरुद्ध निरन्तर भड्काउने वातावरण बनिरह्यो ।
यसैबीच संस्थाको साधारण सभा मंसिर २२ गतेका लागि तोकियो । संस्था साधारण सभाको तयारीमा जट्यो । साधारण सभाको तयारी भइरहेकै बेला मंसिर १८ गते बिहिबारका दिन दिउँसो करीब ४ बजेतिर काकरभिट्टा बजार क्षेत्रका धारामा पानी आउन छोड्यो । धारामा पानी नआएको बिषय तत्काल कार्यालयको तर्फबाट अध्यक्षलाई जानकारी गराइएन । निक्कै ढिलो गरी जानकारी पाउनु भएका अध्यक्ष बुढाथोकी पानी वितरणको समस्या बुझ्न बेलुका करीब ७ः३० बजेको समयमा बर्मेली टोलमा रहेको खानेपानी टेंकी परिषरमा पुग्नु भयो । अध्यक्ष पुगेकै समयमा समितिका उपाध्यक्ष गोविन्द गिरी, कार्यालय प्रमुख दिपक पोखरेल सहित अन्य कर्मचारीहरु पनि त्यहाँ पुगेका थिए ।
बर्मेली टोलको टेंकीमा जडान गरिएका दुइ वटै मोटर जलेर पानी तान्ने काम बन्द भएकाले पानी वितरणको काम ठप्प भएको थियो । उक्त दिन दिउँसो करीब २ बजेको समयमा नै मोटर जलेर पानी टेंकीमा नगएका कारण टेंकीमा भएको पानी सकिए पछि वितरण हुन नसकेको अवस्था अध्यक्ष लगायत पदाधिकारीहरुले जानकारी पाए । यति लामो समय पानी बन्द हुँदा किन मर्मतमा ढिलाई गरियो भनेर अध्यक्षले कर्मचारीलाई प्रश्न गर्नु भयो । अध्यक्षको प्रश्न पछि बर्मेली टोलको टेंकी परिषरमै रहेका खानेपानी संस्थाका पम्प अपरेटर रघु खतिवडाले अध्यक्षको कुरा प्रति प्रतिवाद गर्नु भयो । कर्मचारी खतिवडा र अध्यक्ष बुढाथोकीबीच केही बेर भनाभन समेत भयो । यही बीचमा खतिवडाले रिसको झ्वाँकमा आफ्नो मोबाइल समेत फुटाउनु भयो । अध्यक्षले यस बिषयमा भोलि कार्यालयमा कुरा गर्ने भने पछि सबै जना जलेको मोटर बनाउन केन्द्रीत भए ।
सबै जना मोटर निकाल्ने व्यवस्थापनमा लागिरहेका बेला कुर्सिमा बसेर काम हेरिरहनु भएका अध्यक्ष बुढाथोकीमाथि एक्कासि पछाडीबाट खानेपानीकै कर्मचारी धिरेन सुब्बाले आक्रमण गरे । सुब्बाले अध्यक्षको टाउकोको पछाडीको तल्लो भागमा मार्तोलले हिर्काए । तत्कालै अध्यक्ष ढल्नु भयो । घाइते भएर ढल्नु भएका अध्यक्ष बुढाथोकीमाथी थप प्रहार गर्ने प्रयास गरिरहेका सुब्बालाई मोटर निकालेर बनाउने काममा लागिरहेका खानेपानीका प्राविधिक प्रमुख याम पोखरेलले तत्कालै आक्रमणकारी सुब्बालाई समातेर भुइमा लडाउनु भयो । यो क्रममा पोखरेलको टाउकोमा समेत सुब्बाले मार्तोलले हिर्काउन भ्याए । केही पर बस्नु भएका खानेपानीका उपाध्यक्ष गोबिन्द गिरी दौडिदैं आएर सुब्बालाई नियन्त्रणमा लिनु भयो ।
आक्रमणबाट घाइते हुनु भएका अध्यक्ष बुढाथोकी र पोखरेललाई तत्कालै बिर्तामोडस्थीत बिएण्डसी अस्पताल लगियो । यतिबेलासम्म रातिको करीब ८ बजेको थियो । बिएण्डसी पुर्याए पछि अध्यक्ष बुढाथोकीको टाउकोको पछाडीको भागमा तीन टाँका गर्नु पर्यो भने टाउकोमा टुटुल्को उठेका प्राविधिक प्रमुख पोखरेलको सिटिस्क्यान रिपोर्ट सामान्य आए पछि चिकित्सकले आराम गर्न सुझाव दिएर फर्काए । तीन टाँका गरेका अध्यक्षलाई भने औषधी सेवन गर्दै केही दिन आराम गर्न र केही समस्या भए तत्काल अस्पताल आउन चिकित्सकले सुझाव दिए । अध्यक्षमाथिको आक्रमणको घट्ना पछि भने काकरभिट्टा खानेपानीको मंसिर २२ गतेका लागि तोकिएको साधारण सभा स्थगित गरिएको छ । आक्रमणकारी सुब्बालाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।
घट्नाका बारेमा विभिन्न कोणबाट चर्चा भइरहेको छ । तर अध्यक्षले नै कुटाइ खाएको घट्नामा काकरभिट्टा खानेपानी संस्थाले भने औपचारीक रुपमा आजसम्म कुनै पनि बिषय सार्वजनिक गरेको छैन । यतिसम्मकी अध्यक्षमाथि भएको आक्रमणको बिरुद्ध एउटा विज्ञप्ती समेत संस्थाले सार्वजनिक गरेको देखिदैंन भने आयोजनाको टेंकी परिषरभित्रै कर्मचारीले अध्यक्षसंग भनाभन गरेको र मोबाइल फुटाएको घट्ना समेत खानेपानी संस्थाले गुपचुप राख्न खोजेको देखिन्छ । प्राप्त जानकारी अनुसार घट्नास्थलमा रहेको सिसि क्यामेराको रेकर्ड समेत अहिलेसम्म संस्थाका अध्यक्ष कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुलाई दिइएको छैन । समितिका तर्फबाट सिसि क्यामेराको फुटेज माग्दा कर्मचारीका तर्फबाट आलटाल गर्ने काम भइरहेको समितिका सदस्यहरुले बताउने गरेका छन ।
अध्यक्षमाथि भएको आक्रमणका बिषयमा समितिका पदाधिकारी तथा सदस्यहरुले दिएको अभिव्यक्तिले त झन काकरभिट्टा खानेपानी संस्था भित्र कार्यसमिति र कर्मचारीबीच निक्कै ठुलो द्वन्द चर्किएको सजिलै अनुमान गर्न सकिन्छ । कार्यसमितिका कोषाध्यक्ष बिमला तामाङ कर्मचारीहरुले जे भन्यो त्यही नगरेका कारण अध्यक्षमाथि आक्रमण भएको अभिव्यक्ति दिनु भएको छ । अध्यक्ष सहित कार्यसमितिका अधिकाशं पदाधिकारी र सदस्यहरुको बुझाइ यस्तै छ । कर्मचारीहरुले भनेको काम नगर्दा कर्मचारी भड्काएर आफुमाथि आक्रमण गरिएको बुढाथोकीले बताउनु भयो ।
अध्यक्षमाथि भएको आक्रमणका बिषयमा छानविन गर्न अहिले संस्थाले छानविन समिति बनाएको छ । सर्बदलिय छलफल पछि १५ दिने म्याद दिएर कार्यसमितिले गठन गरेको छानविन समितिले २०८२ मंसिर २६ गतेदेखि काम सुरु गरेको छ । गठित छानविन समितिमा संस्थाका पुर्व अध्यक्षहरु सुर्यप्रकाश उप्रेती, हर्क फ्याक, राजकुमार पराजुली, सल्लाहाकार माधव अर्याल र राधा कार्की रहनु भएको छ ।
यस्ता हुन सक्छन आक्रमणका कारण ।
१) मानसिक अवस्था बिग्रिएको ।
आक्रमणकारी धिरेन सुब्बाको मानसिक अवस्था बिग्रिएको भए यो आक्रमण हुन सक्ने अवस्था हुन्छ तर खानेपानीको दैनिक काममा खटिइरहेका र घट्ना बेलामा समेत ड्युटीमै रहेका कारण सुब्बाको मानसिक अवस्था सामन्य रहेको बुझिन्छ ।
२) दोहोरो भनाभन ।
आक्रमणकारी सुब्बा र अध्यक्षबीच दोहोरो भनाभन भएको अवस्था थियो भने आक्रमण हुन सक्छ तर घट्ना विवरण अनुसार अध्यक्ष बुढाथोकी र सुब्बाबीच दोहोरो भनाभन भएको देखिदैंन । त्यसैले दोहोरो भनाभनका कारण यो आक्रमण भएको मान्न सकिने अवस्था छैन ।
३) अध्यक्षबिरुद्ध निरन्तर भड्काउने कार्य ।
कर्मचारीहरुबीच अध्यक्ष बिरुद्ध निरन्तर भड्काउने गरी कुराकानी, छलफल र गतिविधि भएको भए त्यस्ता कुराले मौका पाए अध्यक्षबिरुद्ध जाइलाग्ने बिचार पैदा गर्छ । जसका कारण यस्ता घट्ना हुन सक्ने आँकलन गर्न सकिन्छ । यस बिषयमा संस्थाले बनाएको छानविन समितिले काम गरिरहेको नै छ ।
स्मरण रहोस, बीस बर्ष अघि २०६२ सालमा काकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको कार्यालय परिषरमा नै पालिएको हरिण मारेर खाएको घट्ना सार्वजनिक भएको थियो । जुन घट्नाका कारण निक्कै बदनाम भएको काकरभिट्टा खानेपानी संस्थाले त्यसपछि नयाँ ढँगले अगाडी बढ्ने सकल्प गरेको थियो ।
(यो सामग्री काकरभिट्टा खानेपानी उपभोक्ता समितिका सदस्यहरु, कार्यालय प्रमुख र अन्य सरोकारवालाहरुसंग गरिएको कुराकानीका आधारमा तयार गरिएको छ ।)