झापा, कार्तिक २४ । शिक्षा मन्त्रालयले शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनितिक गतिविधिमा लागेमा पदबाट बर्खास्त हुने बताएको छ । शिक्षा मन्त्री डा महाविर पुनले हिजो एक विज्ञप्ती जारी गर्दै शिक्षक, प्राध्यापक तथा कर्मचारीहरु राजनितिक गतिविधिमा लागेको पाइएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिनु भएको छ ।
शिक्षा मन्त्री पुनले जारी गर्नु भएको विज्ञप्तीमा भनिएको छ, ‘सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ, कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधमा संलग्न भएको पाइएमा पदबाट बर्दास्त गर्न सकिने सम्मको कानूनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु ।’
मन्त्रालयले राजनीतिक दलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुने शिक्षकदेखि संगठनहरूलाई समेत मान्यता नदिने विज्ञप्तीमा उल्लेख गरेको छ । शिक्षा मन्त्री पुनले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृसंगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँदछु ।’
सरकारी शिक्षक, प्राध्यापक र कर्मचारीका राजनितिक दलसंग आबद्ध विभिन्न संघ संघठनहरु सञ्चालनमा छन भने शिक्षकहरुको साझा संगठनका रुपमा शिक्षक महासंघ पनि क्रियाशिल छ । शिक्षा मन्त्रीले जारी गर्नु भएको विज्ञप्तीसंगै ति संघ संगठनहरुले अब मान्यता नपाउने भएको छन ।
