मेचीनगर, कार्तिक २१ । नेकपा एमाले मेचीनगर कमिटिले पार्टी हित बिरुद्ध लाग्ने नेता कार्यकर्तालाई कारबाही गरेको छ । कार्तिक २० गते सम्पन्न एमाले मेचीनगर कमिटिको बिस्तारित बैठकले मेचीनगर कमिटि मातहतकालाई कारबाही र उपल्लो कमिटिमा रहेकालाई कारबाहीको सिफारीस गरेको एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।
एमालेले युवा नेता सुरेन्द्र कन्दङ्वा (सुरेन) लाई निस्कासन गरेको छ । पार्टीलाई क्षती हुने गरी काम गरेका कारण कन्दङवालाई निस्कासन गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीका अनुसार एमाले मेचीनगरका युवा नेता बालकृष्ण थापालाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गर्ने निर्णय गरिएको छ । कन्दङ्वा युवा संघ मेचीनगरका पुर्व उपाध्यक्ष हुनुहुन्छ भने थापा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट मेचीनगर ६ को वडाअध्यक्षको उम्मेद्वार हुनुहुन्थ्यो ।
त्यस्तै एमाले केन्द्रीय विभाग सदस्य सन्तोस आचार्यलाई पार्टी हित बिपरित गतिविधि गरेको निर्णय सहित कारबाहीका लागि जिल्ला कमिटिमा सिफारिस गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । आचार्य नेकपा एमाले केन्द्रीय खानेपानी तथा सरसफाइ विभागको सदस्य हुनुहुन्छ । आचार्य यस अघि भएको काकरभिट्टा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमालेका तर्फबाट अध्यक्षको उम्मेद्वार समेत हुनुहुन्थ्यो ।
त्यसैगरी मेचीनगर ३ का निर्वाचित वडा सदस्य किशोर भट्टराईले यस अघि नै पार्टीबाट राजिनामा दिएको घोषणा गरेकाले भट्टराई पार्टी सदस्य नरहेको निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । भट्टराईले जेनजी आन्दोलनकै क्रममा पार्टीबाट राजिनामा दिएको सामाजिक सञ्जालमार्फत घोषणा गर्नु भएको थियो ।
एमाले मेचीनगरको बिस्तारीत बैठकले त्यस बाहेक पनि केही नेता कार्यकर्ताहरुलाई सचेत गराउने समेत निर्णय गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । वहाँका अनुसार पार्टी निति विपरित सामाजिक सञ्जालमा लेख्ने तथा पार्टी हित विपरित लाग्नेहरुलाई सचेत गराइएको छ । सचेत गराइएको कार्यकर्ताहरुको संख्या भने अध्यक्ष कार्कीले उल्लेख गर्न चाहनु भएन ।
त्यस्तै एमाले नगर कमिटिको बैठकले कार्तिक २२ गते नगरका सबै वडाहरुमा जनप्रर्दशन गर्ने निर्णय गरेको छ भने कार्तिक २५ गते नगरस्तरिय मोटरसाइकल र्याली गर्ने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । वहाँका अनुसार मोटरसाइकल र्यालीका लागि धुलाबारी चोकमा भेला भएर र्याली सुरु गरिने छ भने वडा स्तरिय जनप्रदर्शनमा सिनियर नेताहरुलाई वडा वडामा सहभागि गराउने तयारी छ ।
त्यस्तै कार्तिक २९ गते विर्तामोडमा हुने जिल्ला स्तरिय आम सभामा मेचीनगरका तर्फबाट दुई हजार नेता कार्यकर्ता सहभागि गराउने समेत बैठकले निर्णय गरेको अध्यक्ष कार्कीले बताउनु भयो ।