मेचीनगर, कार्तिक २० । झापाको मेचीनगर नगरपालिकाका एक जना वडा अध्यक्षले इन्धन बापतको बेरुजु रकम फिर्ता गर्नु भएको छ । इन्धन बापत दोहोरो सुविधा हुने गरी देखिएको ५१ हजार ११० रुपैया बेरुजु मेचीनगर वडा नं. २ का वडा अध्यक्ष दिपक बरालले केही दिन अघि फिर्ता गर्नु भएको मेचीनगरका राजश्व शाखा प्रमुख प्रेम पराजुलीले जानकारी दिनुभयो । ‘जनताकै काममा प्रयोग भएको इन्धन थियो,’ वडा अध्यक्ष बरालले भन्नुभयो, ‘तर महालेखाले नै प्रतिवेदनमा आफ्नो नाममा बेरुजु निकाले पछि मैले रकम जम्मा गरिदिएँ ।’
वडाका विपन्न र जेष्ठ नागरिकहरुको कागजात बनाउने कामका लागि चन्द्रगढी जाँदा र अन्य वडावासीकै कामका लागि इन्धन प्रयोग गरेको भए पनि बेरुजु देखिए पछि रकम फिर्ता गरिदिएको वडा अध्यक्ष बरालले बताउनु भयो । ‘जनताको प्रतिनिधिका रुपमा इमान्दारीताका साथ काम गर्ने संकल्प गरेको छु,’ वडा अध्यक्ष बरालले भन्नुभयो, ‘कानूनले बेरुजु देखाए पछि कानूनको पालना गर्न रकम फिर्ता गरें ।’
इन्धन बापत दोहोरो सुविधा हुने गरी भुक्तानी दिएको भन्दै वडा अध्यक्ष बराल सहित मेचीनगरका १३ जना जनप्रतिनिधिहरुको नाममा महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा तीन लाख २० हजार ८२२ रुपैयाँ बेरुजु निकालेको छ ।
महालेखाको प्रतिवेदनमा दोहोरो सुविधा हुने गरी इन्धन बापतको भुक्तानी लिने १३ जना मध्ये वडा अध्यक्ष बरालले रकम फिर्ता गरे पनि अन्य १२ जना जनप्रतिनिधिहरुले भने अहिलेसम्म उक्त बेरुजु रकम फिर्ता नगरेको नगरपालिका स्रोतले बताएको छ ।
बेरुजु रकम फिर्ता गर्न बाँकी रहेका जनप्रतिनिधिहरुमा मेचीनगर ५ का वडाअध्यक्ष कनक बहादुर कार्र्कीको ३ हजार ३२० रुपैयाँ र मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणी ओलीको दुई हजार ४९० रुपैयाँ रहेको छ ।
त्यस्तै सबैभन्दा बढी बेरुजु देखिएका कार्यपालिका सदस्य चित्रकुमार धिमालको ६५ हजार ५७०, कार्यपालिका सदस्यहरु अमित राईको ३८ हजार १४२, ह्रदय राजबंशीको २४ हजार ९००, कविता खनाल मिजारको १९ हजार ९२०, तिलजा देवानको १९ हजार ९२०, माया प्याकुरेलको १८ हजार २६०, अन्जु थापाको १४ हजार ९४० र रिता परियारको १४ हजार ९४० रुपैयाँ रहेको छ ।
त्यस्तै न्यायिक समिति सदस्यद्वय हरी बहादुर न्यौपानेको २४ हजार ९०० र कुन्दन निरौलाको २२ हजार ४१० रुपैयाँ पेट्रोल तथा डिजलबापत दोहोरो सुविधा हुने गरी बढी रकम भुक्तानी लिएकाले सम्बन्धीत जनप्रतिनिधिहरुबाट असुल गर्नु पर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरेको ।