झापा, कार्तिक १८ । झापा गाउँपालिकाका बाढी प्रभावितहरुलाई रोटरी क्लवहरुले राहत सामग्री वितरण गरेका छन । एक सय जना बाढी प्रभावितहरुलाई खानेपानी फिल्टर, विद्यार्थीहरुका लागि झोला, स्टेशनरीका सामग्री, सेनिटरी प्याड, हर्लिक्स सहित अन्य खाद्य सामग्रीहरु राहतका रुपमा वितरण गरिएको रोटरी क्लव अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले जानकारी दिनु भयो ।
रोटरी क्लव अफ मेचीनगरको संयोजनमा रोट्रयाक्ट क्लव अफ मेचीनगर, रोटरी क्लव अफ बिर्तामोड, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको समेत सहभागितामा राहत सामग्री वितरण गरिएको अध्यक्ष पाठकले दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा झापा बजारमा आयोजित राहत वितरण कार्यक्रममा झापा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष हिमाल चौलागाई, रोटरी क्लवका रिजनल सर्भिस प्रोजेक्ट चियर शुभ कुमाई पाठक, एसिटेन्ट गर्भनर विनोद चापागाई, रोटरी क्लव अफ मेचीनगरका संस्थापक अध्यक्ष कपिल क्षेत्री, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष पुष्पाञ्जली सिंन्हा ठकुरी, मिडटाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल लगायतको उपस्थीति रहेको थियो ।

राहत वितरण कार्यक्रममा बोल्दै रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष पाठकले आपत विपतका बेला रोटरी क्लवहरु सधैं पीडितहरुको साथमा रहने प्रतिबद्धता जनाउनु भयो ।
‘हरेक बर्ष बाढीले गाउँमा पसेर समस्या बनाइरहेको छ,’ अध्यक्ष पाठकले भन्नुभयो, ‘विपदमा रोटरी क्लव संधै साथमा हुन्छौं तर बाढीको दीगो समाधानका लागि पनि स्थानीय र राज्यका निकायहरुले पहल गर्नु पर्छ ।’

रोटरी क्लब अफ काठमाडौं, रोटरी क्लब अफ काठमाडौं सर्कल, रोटरी क्लब अफ पशुपती काठमाडौं, रोटरी क्लब अफ हिमालयन पाटन , रोटरी क्लब अफ भक्तपुर, रोटरी क्लब अफ बिराटनगर डाउनटाउन र भोलेन्टियर क्रप नेपालको सहयोग र झापा गाउपालिका तथा रेडक्रस सोसाइटी झापासगको समन्वयमा बाढी प्रभावितहरुका लागि सामग्रीको व्यवस्थापन गरिएको रोट्याक्ट क्लव अफ मेचीनगरका कोषाध्यक्ष शिशिर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा रोटरी क्लव अफ मेचीनगरका पदाधिकारी तथा सदस्यहरु सहित जिल्लाका विभिन्न रोटरी क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।

असोज १७ गतेदेखि केही दिन आएको बर्षाका कारण झापाका कनकाई र बिरीङ खोला गाउँमा पस्दा झापा गाउपालिकाका वार्ड न १, २ र ७ लगायतका क्षेत्रमा स्थानीयहरु प्रभावित भएका थिए ।