झापा,असोज २८ । यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।
आउँदो कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो ।
कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।
यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिवारदेखि शुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरू गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २ गते आइतवार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।
कात्तिक ३ गते सोमवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ ।
कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले त्यसै अनुसार पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलवार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।
गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ५ गते बुधवार हुनेछ । आत्म (म्ह )पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ शुरू हुन्छ ।
भाइपूजा र किजापूजा पनि कात्तिक ६ गते मनाइनेछ ।
