इलाम,असोज २७ । मेची राजमार्ग अन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा नआउने भएको छ। गएको असोज १८ गतेको वर्षापछि अवरुद्ध बनेको यो सडक खुलाउन नसकिए पछि वैकल्पिक मार्ग बाट आवागमन सुरु गराइएको छ ।
मेची राजमार्गको राजदुवाली सडक खण्ड जटिल भू–संरचनाका कारण खुलाउन कठिनाइ भएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो। अवरोध हटाउन पटकपटक गरेको प्रयास असफल भएपछि विकल्पमा अर्को सडक खुलाइएको हो ।
वैकल्पिक मार्गका रूपमा हाल तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल रुटमा साना गाडी सुचारु गराइएको छ । वैकल्पिक सडकबाट साना र हलुका सवारी साधन आइतबार साँझदेखि नै आउजाउ गर्न थालेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिनुभयो । दुर्घटनाको जोखिम घटाउन यो सडक राति १० देखि बिहान ६ बजेसम्म भने बन्द गरिने उहाँको भनाइ छ ।
वैकल्पिक सडक सञ्चालनमा आएसँगै इलामबाट झापा झर्न र झापाबाट इलाम चढ्न केही हदसम्म सजिलो भएको छ ।सडक अवरुद्ध भएपछि नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका गाडी आवागमनमा समस्या परेको छ। ठूला तथा मालवाहक गाडीका लागि भने अहिलेसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न सकिएको छैन।
तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन कठिन भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो।
यसैबीच,राजदुवाली सडकखण्ड पुनःनिर्माण कार्य स्थगन भने तत्कालका लागि स्थगन गरिएको छ । भूसंरचनासम्बन्धी समस्या र स्रोतसाधन वैकल्पिक मार्गमा परिचालन गर्नुपर्ने भएकाले हालका लागि राजदुवाली सडकखण्डको पुनःनिर्माण कार्य स्थगन गरिएको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो।