इलाम,असोज २४ । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाले आएको बाढीपहिरोका कारण सबै भन्दा धेरै मानविय क्षति भएको इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
इलाममा बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता, र २६ जना घाइते भएका छन् । प्राकृतिक विपत्तिका कारण इलामका धेरै ठाउँमा सडक सञ्जाल अवरुद्ध भएको छ भने पूर्वाधारमा ठूलो क्षति पुगेकोे छ ।
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेसँगै जिल्ला अन्तर्गतको सम्पूर्ण सुरक्षाकर्मी र अत्यावश्यक सेवाका सरकारी जागिरे कर्मचारीको बिदा निलम्बन भएको छ। मन्त्री परिषदको निर्णय राजपत्रमा प्रकाशन भएपछि मात्र यसले औपचारिकता प्राप्त गर्ने भएपनि मन्त्री परिषदको निर्णयसँगै सुरक्षाकर्मी र निजामती कर्मचारीको बिदा निलम्बन गरिएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकोले विपद् सङ्कटग्रस्त क्षेत्रको घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमाना र अवधि तोकी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ।
सङ्कटग्रस्त घोषित अवधिभर विपदबाट उत्पन्न अवस्था नियन्त्रण हुन नसकेमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि थप्न सक्नेछ। त्यस्तै विपदको अवस्था नरहेमा राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै बेला त्यस्तो घोषणा फिर्ता लिन सक्ने व्यवस्था पनि ऐनमा रहेको छ।
-1760086152.png)