मेचीनगर, भदौ ३० । भदौ २३ र २४ गते जनेजी पुस्ताले देशव्यापी रुपमा गरेको आन्दोलनका क्रममा झापामा ५० जना नेता तथा जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भएको छ । सेतोपत्र डटकमले विभिन्न सम्पर्क सुत्रमार्फत तयार पारेको विवरण अनुसार झापाका १० पालिकाका ५० जना नेता र जनप्रतिनिधिहरुको निजि घरमा आगजनी र तोडफोड भएको छ ।
विवरण अनुसार सबैभन्दा धेरै मेचीनगर र दमक नगरपालिकामा १०/१० जना नेता तथा जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भएको छ । दमकमा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भाडामा लिएर बस्दै आएको घर आगजनी भएको छ । त्यस्तै एमाले नेता तथा निवर्तमान मन्त्री देवेन्द्र दाहाल, एमाले नेता रोमनाथ ओली, दमक नगरप्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रदेश सांसद होमबहादुर थापा, एमाले नेता गोविन्द थापा, माओवादी नेता रेवतराज(गगन) पुरी, वडा नं. १ का वडा अध्यक्ष हरिप्रसाद न्यौपाने र वडा नं. ३ का वडा अध्यक्ष नविन बरालको घरमा जेनजी आन्दोलनकारीले आगजनी र तोडफोड गरेका छन ।


त्यस्तै मेचीनगरमा ९ जना नेता तथा जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा नेपाली काँग्रेसका महामन्त्री तथा झापा १ का निवर्तमान सांसद विश्वप्रकाश शर्माको घरमा तोडफोड र आगजनी भएको छ भने नेकपा एमालेका नेता रविन कोईरालाको घरमा पनि आगजनी र तोडफोड भएको छ । त्यस्तै एमाले नेता विष्णु प्रसाई, प्रदेश सांसद गोपाल तामाङ, प्रदेश सांसद सविना बजगाई, एमाले नेता श्रीप्रसाद मैनाली, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, वडा नं. १२ का वडा अध्यक्ष मधु निरौला र नगरपालिकाका कर्मचारी अनन्त प्रकाश वस्तीको घरमा आगजनी र तोडफोड भएको छ ।
बिर्तामोड नगरपालिकामा प्रदेश मन्त्री एकराज कार्कीको घरमा आगजनी र तोडफोड भएको छ । त्यस्तै नगरप्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, पुर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र एमाले विर्तामोडका अध्यक्ष सुवास भट्टराईको घरमा आगजनी र तोडफोड भएको छ ।
त्यसैगरी कनकाई नगरपालिकामा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको घरमा आगजनी गरेका छन भने नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, काँग्रेस नेता लिला चिमरिया, एमाले नेता रविन्द्र लम्साल, वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाई, वडा नं. ७ का वडा अध्यक्ष भिष्मभुषण सिटौला र नगरप्रमुखका भाई दिनेश पोखरेलको घरमा आगजनी र तोडफोड भएको छ ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानी प्रसाद खतिवडा घरमा आगजनी र तोडफोड भएको छ भने प्रदेश सांसद चिन्तन पाठकको घरमा पनि आगजनी र तोडफोड भएको छ ।

त्यस्तै भद्रपुर नगरपालिकामा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा आगजनी भएको छ भने नगरप्रमुख गणेश पोेखरेल र उपप्रमुख राधा कार्कीको घरमा समेत आगजनी भएको छ । भद्रपुर नगरका एमाले नेता कालिचरण बस्नेत र एमाले अध्यक्ष केपी शर्मा ओलीका भाई जयप्रसाद ओलीको घरमा पनि आगजनी र तोडफोड भएको छ । शिवसताक्षी नगरपालिकाका निवर्तमान संघीय सांसद एलपि सावाँ र प्रदेश सांसद राधाकृष्ण खनालको घरमा आगजनी र तोडफोड भएको छ ।
जेनजी आन्दोलनकारीहरुले गौरादह नगरपालिकामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र वहाँका दाजु तथा एमाले नेता दिपक कार्कीको मुल घरमा आगजनी गरेका छन । नगरप्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलबर्षा राजबंशी, वडा नं. २ का वडाअध्यक्ष गोपाल कोइराला, वडा नं. ३ का वडाअध्यक्ष दिलिप भण्डारी र वडा नं. ७ का वडाअध्यक्ष बलराम खरेलको घरमा आगजनी र तोडफोड गरेका छन ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजबंशीको घरमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन भने झापा गाउँपालिकामा माओवादी नेता रुद्र बजगाईको घरमा आगजनी र तोडफोड गरेका छन ।
झापाका अर्जुनधारा नगरपालिका, कमल गाउँपालिका, हल्दिवारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकामा कुनै पनि जनप्रतिनिधि र नेताहरुको निजि घरमा आगजनी र तोडफोड भएको विवरण प्राप्त भएको छैन ।