झापा, भदौ १८ । कोशी प्रदेशको प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयले निष्क्रिय सहकारीहरुको सूची सार्वजनिक गरेको छ । सहकारी रजिष्टार कार्यालयले जारी गरेको सूची अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै झापाका १३१ वटा सहकारी संस्था निष्क्रिय रहेका छन ।
कोशी प्रदेशका विभिन्न जिल्लामा दर्ता भएर सञ्चालनमा रहेका सहकारी संस्था मध्ये ठूलो संख्यामा सहकारी संस्था निष्क्रिय भएकाले त्यस्ता संस्थाहरुलाई विवरण बुझाउन इनरुवास्थित प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले भदौ १५ गते ३५ दिने सूचना प्रकासन गरेको छ । दुई बर्षसम्म कुनै पनि विवरण नबुझाएका सहकारी संघ तथा संस्थाहरुलाई प्रदेश रजिष्टार कार्यालयले कानून बमोजिम निष्क्रिय भएको भन्दै त्यस्ता संस्थाको सूची सार्वजनिक गरेको हो । कार्यालयका अनुसार कोशी प्रदेशमा ४८७ वटा सहकारी संस्था निष्क्रिय रहेका छन ।
जिल्लागत रुपमा निष्क्रिय सहकारी संख्याको अवस्था हेर्दा झापामा सबैभन्दा बढी १३१ वटा सहकारी संस्थाहरु निष्क्रिय रहेका छन भने मोरङमा ६७, सुनसरीमा ६२, इलाममा ४७, तेह्रथुममा २६, उदयपुरमा २६, पाँचथरमा २१, ओखलढुङ्गामा २१, धनकुटामा १७, भोजपुरमा १७, खोटाङमा १७, संखुवासभामा १३, ताप्लेजुङमा १० र सोलुखुम्बुमा १२ वटा सहकारी संस्थाहरु निष्क्रिय सहकारीका रुपमा रहेको प्रदेश सहकारी रजिष्टार कार्यालयले जनाएको छ ।
प्रदेश सहकारी ऐन, २०७६ र सहकारी संघ/संस्था सञ्चालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड, २०७८ अनुसार निष्क्रिय संस्थामाथि कारबाही हुने प्रावधान छ । यही प्रावधानलाई कार्यान्वयन गर्दै प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले तथ्याङ्क सुद्धिकरण अभियान शुरु गरेको कार्यालयले जनाएको छ ।