धुलाबारी, भदौ ६ । मेचीनगर १० स्थीत धुलाबारी माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघ(पिटिए) को अध्यक्षमा पुनः लेखनाथ शर्मा पराजुली चयन हुनु भएको छ । आज भएको अभिभावक भेलाले पराजुलीलाई पाँचौं कार्यकालका लागि पिटिए अध्यक्षमा सर्बसम्मत चयन गरेको छ ।
समितिको सदस्यहरुमा खेम गौतम इटाभट्टा, लक्ष्मण प्रसाई धाईजन, सर्मिला नेम्वाङ्ग काकरभिट्टा, सुनिता राजबंशी धुलाबारी, सोमनाथ ढुंगाना बुद्धशान्ति, सुनिता मोते मेचीनगर ९ र निर्मल अधिकारी मेचीनगर १० सर्बसम्मत चयन हुन हुनु भएको विद्यालयका निमित्त प्रधानाध्यापक तेजप्रसाद चौलागाईले जानकारी दिनुभयो । शिक्षक अभिभावक संघमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र एक जना शिक्षक प्रतिनिधि पदेन सदस्य हुने गरी जम्मा ११ सदस्यीय रहने व्यवस्था भएको निमित्त प्रधानाध्यापक चौलागाईले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङ्गको सभापतित्वमा सम्पन्न अभिभावक भेलामा मेचीनगर १० का वडा अध्यक्ष नारायण खनालले विद्यालयलाई गुणस्तरिय बनाउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

भेलामा विद्यालय नर्स ज्योस्ना बुढाथोकीले विद्यार्थीहरु विरामी हुँदा विद्यालयमा नै गरिने उपचारको बारेमा जानकारी गराउनुका साथै छात्राहरु महिनावारी भएका बेला विद्यालयमा नै सेनिटरी प्याड लगायतका सामग्री निशुल्क उपलब्ध गराउने बताउनु भयो । वहाँले आफ्ना नानीहरुलाई घरबाटै खाजा तयार गरेर पठाईदिन अभिभावकहरुलाई आग्रह गर्दै स्वस्थ्यकर खाजाका बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरु किशोर क्षेत्री, ऋषीराज तिम्सिना, लगायतको कार्यक्रममा सहभागिता रहेको कार्यक्रम विद्यालयका शिक्षक रमेश दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।