मेचीनगर,भदौ ३ । झापाको मेचीनगर ७ इट्टाभट्टामा अब साप्ताहिक हटिया (हाट बजार) लाग्ने भएकाे छ । भदाै ४ गतेदेखि प्रत्येक बुधबार साप्ताहिक रुपमा हाट बजार लगाउन सुरू गरिने मेचीनगर वडा न ७ का वडाअध्यक्ष प्रल्हादमणि ओलीले बताउनु ।
वडा नम्बर ७ को कार्यलय परिसरमा निमार्ण भएर उपयोग हुन नसकेको अवस्थामा रहेको टहराहरुमा अब प्रत्येक बुधबार साप्ताहिक रुपमा हाट बजार सञ्चालनमा ल्याउन लागिएको हो । बजार व्यवस्थापनको जिम्मा पाएको इट्टाभट्टा बजार व्यवस्थापन समितीले आज पत्रकार सम्मेलनको आयोजना गरि यसबारेमा जानकारी गराएको छ ।
इट्टाभट्टा बजार व्यवस्थापन समितीका अध्यक्ष खडानन्द भण्डारीले बुधबार धुलाबारी तथा सिमापारीको पानीट्याङ्की बजार बन्द रहने भएका कारण उक्त दिन हाट बजार सञ्चालन गर्दा साना कृषक तथा व्यापारीहरुलाई सुबिधा हुने बताउनुभयो । आफ्ना उत्पादन टाढा पुर्याउन नसक्ने अवस्थामा रहेका स्थानियहरुलाई आफनो उत्पादन आफै बजार सम्म ल्याइपुर्याउन सहज वातावरण निमार्ण हुने उहाँको दाबी छ ।
त्यस्तै वडाध्यक्ष ओलीले स्थानिय कृषक तथा व्यापारीहरुलाई बजारसम्म आफना उत्पादन ल्याउन सहज होस तथा स्थानिय बासिन्दाले पनि अर्गानिक उत्पादनहरुको लाभ लिन सकुन भन्ने उदेश्यले आफ्नै स्थानमा हाट बजार सञ्चालन गर्न लागिएको बताउनुभयो ।
छरिएर रहेका साना व्यापारीहरुलाई एकै स्थानमा व्यवस्थापन गर्न तथा अलपत्र अवस्थामा रहेका संरचनाहरुको उपयोग गर्न पनि साप्ताहिक रुपमा लाग्ने हाट बजारले मद्धत पुर्याउने उहाँको भनाई छ ।
करिब एक सय पसल राख्न सकिने गरि व्यवस्थापन गरिएको छ । अर्गानिक तरकारी, स्थानीय उत्पादन र कृषकले ढाकी–नाङ्लामा ल्याउने सामग्रीलाई प्राथमिक्तामा राखिने छ ।
बजार उदघाटनको अवसरमा भोली तिज मिलन कार्यक्रमको पनि आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।