मेचीनगर, साउन २८ । झापाको मेचीनगरको एउटा सामुदायिक विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याब विद्युत महशुल तिर्न नसक्दा बन्द भएको छ । मेचीनगर २ भृकुटीस्थीत भानु माद्यमिक विद्यालयमा रहेको कम्प्युटर ल्याब बिगत दुई बर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।
कम्प्युटर ल्याब सञ्चालन गर्दा विद्युत महशुल बढी आउने गरेको र त्यसका लागि विद्यालयसंग रकम नहुने भएकाले ल्याब सञ्चालन गर्न नसकिएको भानु माविका प्रधानाध्यापक खड्गकुमारी तिम्सिनाले बताउनु भयो । तिम्सिनाका अनुसार विद्युत महशुल मात्रै मासिक ९/१० हजार आउने भएकाले त्यो रकम विद्यालयले तिर्न नसकेकै कारण कम्प्युटर ल्याब चलाउन सकिएको छैन । ‘हामीसंग कम्प्युटरको दक्ष शिक्षक हुँदाहुँदै पनि खर्च अभावकै कारण ल्याब चलाउन सकिएन,’ तिम्सिनाले भन्नुभयो, ‘विद्युत महशुल तिर्न मात्रै मासिक १० हजार कतैबाट सहयोग भयो भने हामी कम्प्युटर ल्याब मज्जाले सञ्चालन गर्न सक्छौ ।’ ‘विद्यालयमा प्रशासनिक खर्च भनेर बर्ष भरिका लागि जम्मा ३० हजार मात्रै आउँछ,’ प्रअ तिम्सिनाले भन्नुभयो, ‘विद्यालयको आफ्नै स्रोत छैन, त्यसैले विद्यालय सञ्चालनमा समस्या छ ।’


तत्कालिन प्रतिनिधि सभा सदस्य राम कार्कीको सक्रियतामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहकार्यमा २०७७ सालमा करीब २८ लाख खर्च गरेर २४ थान कम्प्युटर सेट, व्याट्री, इन्र्भटर लगायतका सामग्री उपलब्ध गराएर कम्प्युटर ल्याब जडान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र ढुंगानाले जानकारी दिनुभयो । वहाँका अनुसार करीब दुई बर्ष ल्याब सञ्चालन गरेर विद्यार्थीहरुलाई कम्प्युटरबाट अध्ययन गर्न सजिलो भए पनि विद्युत महशुल तिर्नै नसक्ने अवस्था भए पछि २०७९ सालमा ल्याब बन्द गरिएको हो ।
कम्प्युटर ल्याब भएको कोठाको टिनको छाना चुहिएर समस्या भएको शिक्षक राजेश भट्टराईले बताउनु भयो । ‘बर्षाको समयमा कम्प्युटर जोगाउनै गारो छ,’ वहाँले भन्नभयो, ‘केही थान कम्प्युटरलाई अर्को कोठामा सारेका छौं ।’
विद्यालयका धेरै जसो छाना चुहिने भएकाले नियमित पठन पाठनमा समेत समस्या परिरहेको प्रधानाध्यापक तिम्सिनाले बताउनु भयो । ‘नगरपालिकाले गत बर्ष नै छानो फेरिदिने भनेको थियो,’ तिम्सिनाले भन्नुभयो, ‘तर अहिलेसम्म काम भएको छैन ।’

विद्यार्थीहरु र अभिभावकको चाहाना अनुसार भानु माविले यसै बर्षदेखि कक्षा ११ मा कम्प्युटर विज्ञान बिषय अध्ययन गराउन सुरु गरेको छ । तर अहिलेकै अवस्थामा विद्यालयमा भएको व्यवस्थीत कम्प्युटर ल्याब भने सञ्चालन गर्न सक्ने अवस्था नभएको प्रधानाध्यापक तिम्सिनाले बताउनु भयो । ‘विद्यालयको प्रशासनिक खर्चले विद्युत महसुलको ठुलो रकम तिर्नै सक्दैन,’ प्रध्यानाध्यपक तिम्सिनाले भन्नुभयो, ‘शिक्षकहरुबाटै पैसा उठाएर पुरानो बाँकी रहेको विद्युत महसुल बापतको एक लाख २४ हजार ३३३ रुपैयाँ केही दिन अगाडी मात्रै तिरेका छौं ।’
विद्यालयको कम्प्युटर ल्याब सञ्चालन गर्ने बिषयमा नगरपालिका कार्यालयमा परामर्श गर्ने मेचीनगर नगरपालिकाका प्रवक्ता दिपक बरालले बताउनु भयो । वडामा सञ्चालनमा रहेका विद्यालयहरुका लागि विभिन्न शीर्षकमा रकम उपलब्ध गराउँदै आएको मेचीनगर २ का वडा अध्यक्ष समेत रहनु भएका प्रवक्ता वरालले जानकारी दिनुभयो ।