धुलाबारी,साउन १०। झापाको धुलाबारी क्याम्पसमा २७ वर्ष सेवा गर्नुभएका क्याम्पस प्रमुख पुष्पराज पौडेललाई सम्मानसहित विदाइ गरिएको छ । २७ बर्ष अघि क्याम्पससंग जोडिएर २१ वर्षसम्म क्याम्पसको नेतृत्व सम्हाल्नुभएका पौडेललाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
क्याम्पसका प्रमुख पौडेलको कार्यकालमा क्याम्पसको शैक्षिक विस्तार र स्तरोन्नतिका लागि उल्लेखनीय कार्यहरु भएका छन् । उहाँकै पहलमा पूर्वाञ्चल विश्वविद्यालयको मात्र सम्बन्धन रहेको धुलाबारी क्याम्पसको त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन विस्तार गरिएको थियो। त्यसपछि सीटीईभीटीसँगको सहकार्यमा ओभरसियर कार्यक्रम सञ्चालनमा ल्याइएको थियो भने हाल क्याम्पसमा स्नातक तहको इञ्जिनियरिङ पढाइ समेत भइरहेको छ ।
सोही कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रुद्र मैनालीलाई पद हस्तान्तरण गरिएको छ । क्याम्पस प्रमुख पौडेलले स्वेच्छिक राजीनामा दिएपछि क्याम्पस सञ्चालक समितिले सोही क्याम्पसको इन्जिनियरिङ विभागका अध्यापक मैनालीलाई नयाँ क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष भिम खवासको अध्यक्षतामा भएको बिदाइ तथा पदहस्तान्तरण कार्यक्रममा समितिका संस्थापक उपाध्यक्ष राम कट्टेलले पौडेललाई सांसद् वा मन्त्री बन्न सक्ने योग्य व्यक्ति भन्दै प्रशंसा गर्नुभयो। अर्का सदस्य वीपी भट्टराईले पौडेलको अनुभव अझै क्याम्पसलाई आवश्यक रहेको बताउँदै सञ्चालक समितिमा रहेर सहयोग गर्न आग्रह गर्नुभयो।
विदाइ मन्तव्य राख्दै क्याम्पसका पुर्व प्रमुख पौडेलले क्याम्पसको शैक्षिक र भौतिक विकासमा सबैको साथ रहेको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो। नवनियुक्त प्रमुख रुद्र मैनालीले क्याम्पसमा प्राविधिक शिक्षा विस्तार गर्ने प्रतिबद्धता जनाउँदै, स्नातकोत्तर तहसम्मको इञ्जिनियरिङ अध्ययन सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रमको सञ्चालन क्याम्पसकै अध्यापक दामोदर ढुंगेलले गर्नु भएको थियो भने विदाई हुनु भएका पौडेलले नवनियुक्त क्याम्पस प्रमुख मैनालीलाई माइन्यूट हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक समिति, शिक्षक, विद्यार्थी, कर्मचारी, जग्गादाता परिवार र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
