झापा, साउन ८ । नेकपा एकीकृत समाजवादी पार्टी झापाले झापाका गरीब तथा बिपन्न परिवारको घर निर्माण गरिदिने अभियानको सुरुवात गरेको छ । नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसर पारेर झापाका प्रत्येक पालिकाबाट एक एक जना गरी १५ वटा गरीब तथा बिपन्न परिवारको घर निर्माण गरिदिने नेकपा एस झापाका अध्यक्ष बिशेस्वर भट्टराईले बताउनु भयो ।
बुधबार पुष्पलाल स्मृति दिवसको दिन पारेर झापा भद्रपुर वडा नं. २ स्थीत महारानी चोक पुर्वमा बसोबास गर्दै आउनु भएकी इन्द्रमाया खातिको घर शिलान्यास गरी अभियानको सुरुवात गरिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।
‘हामीले कमरेड पुष्पलाल लाई यसरी सम्झीयौ,’ नेकपा एस झापाका अध्यक्ष भट्टराईले भन्नुभयो, ‘नेकपा एकिकृत समाजवादी पुष्पलाललाई जहिले यसरी नै सम्झीन्छ, जनताको ओत को कुरा प्रमुख हो भन्ने बुझाइ अनुरुप जिल्ला कमिटी १५ वटै पालिकामा एक एक वटाको दरले अति विपन्न गरिव जनताको घर निर्माण गरिदिने अभियान सुरु गरेका हौं ।’
अध्यक्ष भट्टराईको अध्यक्षतामा सम्पन्न बिपन्न परिवारको घर निर्माण गर्ने अभियानको उदघाटनसंगैको घर शिलान्यास कार्यक्रममा प्रमुख अतिथी नेकपा एसका झापा ईन्चार्ज पुष्प पोखरेल, अतिथी सह इन्चार्ज चन्द्रा श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु तथा नगर कमिटी सदस्यहरुको उपस्थीति रहेको नेकपा एस झापाले जनाएको छ ।
कार्यक्रममा परिवारको परिचय पदम लिम्बुले गराउनु भएको थियो भने स्वागत जिल्ला कमिटीका उपाध्यक्ष नवीन इजमले गर्नु भएको थियो । अभियानका संयोजक बासु दुलालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रम पार्टीका जिल्ला सचिब सानुकुमार लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।