काकरभिट्टा, साउन ५ । पुर्वी सिमान्त शहर काकरभिट्टामा आजदेखि टर्मिनल भित्रैबाट विद्युतिय सवारी (इभी) का गाडीहरु निर्वाधहरुमा सञ्चालन गर्न इभी ट्याकलाई सञ्चालनमा ल्याइएको छ । यस अघि बस टर्मिनलभन्दा बाहिरबाटै सञ्चालनमा रहेका इभी माइक्रोका लागि बस टर्मिनलमा नै एउटा ट्रयाक उपलब्ध हुने गरी आजदेखि सञ्चालनमा आएको हो ।
आज विहान एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले रिवन काटेर इभी ट्रयाकको औपचारिक उद्घाटन गर्नु भएको थियो । ट्रयाकको उदघाटनसंगै आजैदेखि इभीका माइक्रोहरु काकरभिट्टा बस टर्मिनलको सबैभन्दा पच्छिम तर्फको ट्रयाकबाट सञ्चालनमा आएका छन ।

इभी नेपाल यातायात प्रालिको सञ्चालन तथा व्यवस्थापनमा इभी ट्रयाक सञ्चालन हुने भएको छ । किार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले काकरभिट्टा नेपालकै मुहार भएकाले त्यसलाई व्यवस्थीत बनाउनु सरोकारवाला सबैको साझा बिषय भएको बताउनु भयो । वहाँले परिवर्तशिल समयमा कुन सवारीले टर्मिनल भित्र पस्न दिने र कुनलाई नदिने भन्ने गलत कार्य कसैले गर्न नहुने बताउनु भयो । ‘हिजो पनि खुट्टाले पाइडल मारेर चलाउने रिक्साको ठुलो संख्या थियो,’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘सुरुमा विद्युतिय सिटि रिक्सा आउँदा पुराना रिक्सावालाहरुले चल्न दिएका थिएनन तर आज पाइडलवाला रिक्सा हराएर गयो ।’
आज संख्या बढी हुने सवारीहरुले इभी सवारीलाई निषेध गर्न खोजियो भने त्यस्ता कुराले थप इभीको संख्या बढ्दा पुराना सवारीहरु पलायन भएर जाने सम्भावना बढ्दै गएकाले त्यस तर्फ सचेत हुन नगरप्रमुख बुढाथोकीले सबैलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा बोल्दै इभी नेपाल यातायात प्रालिका अध्यक्ष सन्तोस आचार्यले इभीले यातायात क्षेत्रको नयाँ रोजगारीको सम्भावनाको ढोका खुला गरेको बताउनु भयो । ‘हामी कसैको रोजगारी खोस्न आएका होइनौं,’ आचार्यले भन्नुभयो, ‘तपाईको अप्ठ्यारोमा सहयोगी हुन आएका हौं, हाम्रा कारणले कसैले अन्याय भोग्नु पर्दैन ।’

कार्यक्रम पुर्व मेची व्यवशायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले बस टर्मिनल सबै सवारी साधनको साझा थलो भएकाले त्यसलाई सबैले मिलेर प्रयोग गर्नु पर्ने बताउनु भयो । बसपार्क तथा बस टर्मिनल व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य सचिव माधव अर्यालले स्वागत मन्तव्य राख्दै काकरभिट्टाको अस्तव्यस्ततालाई व्यवस्थीत गर्न समितिले थुप्रै प्रयासहरु गरिरहेको र त्यसमा केही उपलब्धीमूलक काम समेत सम्पन्न भएको बताउनु भयो । कार्यक्रम बसपार्क तथा बस टर्मिनल व्यवस्थापन समिति अन्तर्गतको उपसमितिका सचिव नेत्र कार्कीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मेचीनगर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख राजन लामा, पुर्व मेची बस व्यवशायी प्रालिका पुर्व अध्यक्ष बिष्णु श्रेष्ठ, बसपार्क व्यवस्थापन समितिका सदस्य राम तामाङ लगायत अन्य यातायात व्यवशायी र सञ्चारकर्मीहरु उपस्थीति रहेको थियो ।